कञ्चनपुर — कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० स्थित कुतियाकभरमा ४२ घरधुरीको बसोबास छ । जहाँ नेपाल–भारतको सिमाना कच्ची सडकले छुट्याएको छ । स्थानीयलाई नुन, तेल र दैनिक उपभोग्य वस्तुमा भारतकै भर पर्नुपर्ने बाध्यता छ । ‘जोगबुढा नदीमा पक्की पुल हुन्थ्यो त उपभोग्य वस्तुदेखि मल, बीउमा भारतसँग भर पर्नुपर्ने बाध्यता टर्थ्यो नि,’ स्थानीय महेशमणि शर्माले भने, ‘झोलुंगे पुल त ०७२ सालमा बनेको हो, अब पक्की पुल कसले पो बनाउला र ?’
सोही बस्तीका ७३ वर्षीय रतनलाल सुनार झोलुंगे पुल बन्नासाथ पक्की पुलको माग गरेको बताउँछन् । ‘प्रत्येक निर्वाचनमा नेताहरू आउँदा यही कुरा भन्छौं,’ उनले भने, ‘यसपालि पनि पक्की पुल निर्माण गर्न सक्ने उम्मेदवारलाई बस्तीको भोट जान्छ ।’ पक्की पुल बने बस्ती कञ्चनपुरकै आम्बोजसँग जोडिन्छ र नजिकको नौ नम्बर बजारमा पहुँच हुन्छ । २०२३ सालदेखि बसोबास गरिरहे पनि यहाँका स्थानीयसँग जग्गाको लालपुर्जा छैन, ऐलानीमा बसोबास गर्दै आएका छन् । प्रत्येक वर्षको बर्खामा जोगबुढा र महाकाली नदीको बाढी पसेर बस्ती डुबानमा पर्ने गरेको छ । यो बेला मानवीय हताहती पनि हुने गरेको छ । बस्तीमा नेपाली सेना, दोधारा चाँदनी नगरपालिका र विभिन्न गैरसरकारी संस्थाको सहयोगमा दुईवटा सुरक्षित सामुदायिक भवन बनाइएको छ । बर्खामा स्थानीय त्यही भवनमा सामूहिक रूपमा बस्छन् । तटबन्धको काम भने भइरहेको स्थानीयको भनाइ छ ।
आफूहरूका धेरै माग २०७९ मा कांग्रेसबाट कञ्चनपुर–३ मा चुनाव जितेका पूर्वगृहमन्त्री रमेश लेखकले पूरा गरेको स्थानीय सुनाउँछन् । ‘अघिपछि चुनाव जिते नि, हारे नि उहाँ महिनामा एक चोटि त गाउँ आउनु हुन्थ्यो,’ स्थानीय महेशमणि शर्मा भन्छन्, ‘अहिले त धेरै भयो नदेखेको, उहाँ गाउँबस्तीको विकास गर्नुपर्छ भन्ने नेताभित्रै पर्नुहुन्छ ।’ लेखककै पहलमा झोलुंगे पुल बनेकाले आफूहरूलाई ठूलो राहत मिलेको उनले सुनाए । तर लेखकले कांग्रेसबाट टिकट नपाउँदा अचम्म लागेको उनको भनाइ छ ।
भित्री बस्तीमा लेखकको चासो चिन्ता गर्दै उनले गरेका विकास निर्माणको कामको खुलेर प्रशंसा गर्ने धेरै भेटिए । तर महेन्द्रनगर बजार क्षेत्रमा भने उनले गरेको कामको प्रशंसा गर्ने त भेटिए, तर अब पुरानालाई भन्दा नयाँ अनुहार खोज्नुपर्ने विचार पनि धेरैले सुनिए । पुरानासँग अपेक्षा गरिएका धेरै कुरा नयाँले पूरा गर्ने भीमदत्त नगरपालिका–७, हल्दुखालका व्यवसायी ४४ वर्षीय प्रकाश चन्द बताउँछन् । ‘चोकचोकमा पुरानालाई भन्दा यो पटक नयाँ अनुहारलाई अवसर दिनुपर्ने सुनिन्छ,’ उनले भने, ‘त्यसैले अब पुरानाको विकल्प खोजौं भन्ने छ, लामो समयसम्म पुरानालाई हेरेकै हो, केही परिवर्तन गर्छन् कि भन्ने थियो, त्यो भएन ।’ हल्दुखालकै ५५ वर्षीय तारादत्त जोशी आफूहरूका कुरा बुझ्नेलाई मात्र भोट दिने तर्क गर्छन् । ‘अब नयाँ अनुहार आउनुपर्छ, पुरानालाई भोट हाल्दा हाल्दा वाक्क भइसक्यो, नयाँले केही गर्लान् भन्ने हो,’ उनी भन्छन् ।
कांग्रेस नेता लेखक यसअघि कञ्चनपुर–३ बाट तीन पटक निर्वाचित भइसकेका छन् । २०५६ मा पहिलो पटक निर्वाचित भएका लेखक त्यसपछि २०६४ मा पहिलो संविधानसभा निर्वाचनमा समानुपातिकबाट संविधानसभा सदस्य चुनिए । त्यतिबेला कांग्रेसबाट शेरबहादुर देउवाले डडेलधुरासँगै कञ्चनपुर–४ ९हालको ३० मा चुनाव जिते । देउवाले छाडेपछि उपनिर्वाचनमा माओवादीका हरीश ठकुल्ला निर्वाचित भए ।
२०७० को दोस्रो संविधानसभा निर्वाचनमा लेखक विजयी भए । २०७४ को प्रतिनिधिसभाको निर्वाचनमा भने लेखक एमालेका दीपकप्रकाश भट्टसँग झिनो मतले पराजित भए । भट्टले २६ हजार ३ सय ६४ मत प्राप्त गरेका थिए भने लेखकले २६ हजार १ सय ६ मत पाएका थिए । २०७९ को निर्वाचनमा उक्त क्षेत्रबाट फेरि लेखक नै विजयी भए । उनले एमालेकी नीरुदेवी पाललाई फराकिलो मत अन्तरले पराजित गरे । लेखकले ३० हजार ५ सय ७५ मत पाएका थिए भने पालले १८ हजार ४ सय ८५ मत पाइन् ।
टिकट नपाएको विषयमा केही भन्दिनँ, अब छिटै जनतामा जान्छु, भेटघाट गर्छु, हात जोड्छु, के भयो भनेर सोधे भने पार्टीले निर्णय गर्यो, यस्तै भयो भन्छु : रमेश लेखक, कांग्रेस नेता
यसपालि पनि जिल्लाबाट कञ्चनपुर–३ को उम्मेदवारमा लेखक सिफारिस भएका थिए । तर उनले टिकट पाएनन् । उक्त क्षेत्रमा कांग्रेसका हरिप्रसाद बोहरा उम्मेदवार छन् । बोहरा पार्टीका पूर्वजिल्ला सभापति हुन् । उनी पहिलो पटक निर्वाचनमा होमिँदै छन् । एमालेबाट भट्ट, नेकपाबाट मानबहादुर सुनार, रास्वपा ज्ञानेन्द्र महता उम्मेदवार बनेर चुनावी मैदानमा छन् । उक्त क्षेत्रमा ३ स्वतन्त्रसहित १७ जनाको उम्मेदवारी परेको छ ।
महाकाली पारिको दोधारा चाँदनी क्षेत्रबाट पहिलो पटक मुख्य दलबाट प्रतिनिधिसभा सदस्यका लागि नेकपाले सुनारलाई उम्मेदवार बनाएको हो । अन्य उम्मेदवार भने महाकाली वारिका छन् । सुनार सुदूरपश्चिम प्रदेशसभाका पूर्वसदस्य हुन् । तत्कालीन माओवादी केन्द्रबाट प्रदेशसभा सदस्य निर्वाचित भएका सुनार भूमि कृषि तथा सहकारी राज्यमन्त्रीसमेत भएका थिए । एमाले उम्मेदवार भट्ट बौद्धिक नेताका रूपमा चिनिन्छन् । भारतको जवाहरलाल नेहरू विश्वविद्यालयबाट विद्यावारिधि गरेका उनी सुरक्षाविज्ञ हुन् । उनी २०७४ मा पहिलो पटक वाम गठबन्धनबाट सांसद निर्वाचित भएका थिए । यो निर्वाचन क्षेत्रमा भीमदत्त नगरपालिकासँगै दोधारा चाँदनी र बेदकोट नगरपालिकाको वडा नम्बर ८ पर्छन् । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि यस क्षेत्रमा ५० हजार ४ सय ८७ पुरुष र ५२ हजार ६ सय महिला गरी १ लाख ३ हजार ८७ मतदाता छन् । बेदकोट नगरपालिका–७ का १८ वर्षीय मनीष भट्ट पहिलो पटक मतदान गर्ने तयारीमा छन् । त्यसैले उनलाई कहिले निर्वाचन आउला जस्तो भएको छ । ‘अब हामी जस्ता युवाले पुरानो उम्मेदवारको विकल्प खोज्नैपर्छ, कञ्चनपुरका सबै क्षेत्रमा एउटै अनुहार होइन, नयाँ अनुहार आउनैपर्छ,’ महेन्द्रनगर बजारमा भेटिएका उनी भन्छन्, ‘सडक पूर्वाधार त हुँदै गर्ने विकास हो, भ्रष्टाचारमुक्त र शान्ति, सुरक्षा, अमनचैनको कुरा पनि हुनुपर्छ ।’
सुदूरपश्चिम विश्वविद्यालयमा बीएलएलबी पहिलो वर्षमा अध्ययनरत उनी परिवर्तनको पक्षमा रहेको बताउँछन् । ‘विकास निर्माणको काम राम्रो हुँदा यसको जस लिन होडबाजी गर्ने, तर जेन–जी आन्दोलनमा ठूलो दुर्घटना हुँदा मैले होइन भन्न मिल्छ रु,’ उनी प्रश्न गर्छन्, ‘सरकारमा जो थियो, उसले जिम्मेवारी लिनु पर्छ ।’ जेन–जी पुस्ता अब अगाडि आउनुपर्ने महेन्द्रनगरकी २२ वर्षीया करिस्मा नाथ बताउँछिन् । ‘देशमा रोजगारी छैन, रोजगारअनुसारको तलब सुविधा पनि छैन,’ उनी भन्छिन्, ‘जसले गर्दा विदेश जानुपर्ने बाध्यता छ, यहीं बस्ने वातावरण बनाउनुपर्छ ।’ यसका लागि अब निर्वाचनबाट चुनिने नेतृत्वले ध्यान दिनुपर्ने उनको सुझाव छ । भ्रष्टाचार अन्त्य गर्ने नेतृत्व आउनुपर्ने महेन्द्रनगर बजारकै २१ वर्षीया एलिना डीसी बताउँछिन् । ‘जो आए पनि राम्रो नेतृत्व आओस्, जेन–जीलाई विदेश नपठाउने नेतृत्व आओस्,’ उनी भन्छिन् ।
पुराना दलमा शुद्धीकरण हुनुपर्ने स्थानीय इँटा व्यवसायी ६० वर्षीय नारद पाण्डे बताउँछन् । ‘पुरानाले बिगारे, नयाँले छलाङ मारे भन्ने होइन,’ उनी भन्छन्, ‘लेखक पदीय दायित्वमा हुँदा जेन–जी आन्दोलनको घटना भएको हो, त्यसको जिम्मेवारी उहाँले लिनुपर्छ ।’ तर लेखक भ्रष्टाचारमा लिप्त नभएको शालीन स्वभावको मान्छे रहेको उनको बुझाइ छ । ‘चुनाव जितेर जाँदा उहाँलाई हेर्ने दृष्टिकोण एउटा र जेन–जी आन्दोलन पछि हेर्ने दृष्टिकोण फरक छ,’ उनले भने ।
सुदूरपश्चिमको कञ्चनपुर सबैभन्दा बढी विकास भएको ठाउँ रहेको सुदूरपश्चिम विश्वविद्यालयका सहप्राध्यापक प्रितबहादुर बिष्ट बताउँछन् । ‘सुदूरपश्चिममा क्षेत्रीयता, भेगीय र राजनीतिक निरन्तरताले ठूलो प्रभाव पार्छ,’ उनले भने, ‘पुराना पार्टीको राजनीतिक आधार तलैसम्म छ । नयाँ पार्टीको पहिलो परीक्षण यस क्षेत्रमा हुँदै छ ।’ चार पटक सांसद, भौतिक पूर्वाधार तथा यातायातमन्त्री र गृहमन्त्री भइसकेका लेखकका लागि जेन–जी आन्दोलनपछि असहज परिस्थिति सिर्जना भयो । उनी कांग्रेसमा पूर्वसभापति शेरबहादुर देउवाका विश्वास पात्र मानिन्छन् । विशेष महाधिवेशनबाट गगन थापा पार्टी सभापति बनेसँगै टिकट पाउनबाट वञ्चित बन्न पुगे ।
जेन–जी आन्दोलनपछि स्थान हदले गृहजिल्ला जान नसकेको पूर्वगृहमन्त्री रमेश लेखक बताउँछन् । ‘स्थान हद फुकुवा भएको छ, अब जान्छु,’ उनले कान्तिपुरसँग भने, ‘सांसद हुँदा महिना दिन नकटाउने, मन्त्री हुँदा ६० दिन नकटाउने गरेर समयतालिका बनाएर निर्वाचन क्षेत्रमा जाने गर्थें ।’ टिकट नपाएको विषयमा उनी भन्छन्, ‘यसमा केही भन्दिनँ, अब छिटै जनतामा जान्छु, भेटघाट गर्छु, हात जोड्छु, के भयो भनेर सोधे भने पार्टीले निर्णय गर्यो, यस्तै भयो भन्छु ।’कान्तिपुरबाट


