धनगढी: नेकपा एमालेले सुदूरपश्चिमका दुई निर्वाचन क्षेत्रमा उम्मेदवार हेरफेर गरेको छ । हिजो बसेको सचिवालय बैठकले बझाङमा अफिलाल ओखेडा र कञ्चनपुर(१ मा कमला बोहरालाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । तर, अहिले दुवै उम्मेदवारलाई ब्याक गर्दै पार्टीले यी दुई स्थानमा नयाँ उम्मेदवारलाई टिकट दिइएको हो । बझाङमा ऎन महरले र कञ्चनपुर-१ मा तारालामा तामाङले टिकट पाएका छन् ।
अघिल्लो निर्वाचनमा कांग्रेस, माओवादी र नेकपासहितको गठबन्धनविरुद्ध निर्वाचन लडेका महर ९ सय ९८ मत अन्तरले पराजित भएका थिए । यो परिणाम सुदूरपश्चिम प्रदेशका सबै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा कम मत अन्तरको हार हो । तत्कालीन नेकपा (एस) का भानुभक्त जोशीले २८ हजार १ सय ४३ मत प्राप्त गर्दा महरले २७ हजार १ सय ४५ मत पाएका थिए ।
कञ्चनपुर क्षेत्र नम्बर १ मा तामाङले गठबन्धनका उम्मेदवार नेकपा-माओवादी केन्द्रकी बिना मगरलाई ४ हजार ९११ मत अन्तरले पराजित गरेका थिए । तामाङले २० हजार ९६९ मत प्राप्त गर्दा बिना मगरले १६ हजार ५८ मत प्राप्त गरेकी थिइन् । बझाङमा महर र कञ्चनपुर-१ मा तामाङ दुवै लोकप्रिय उम्मेदवार हुन् ।


