अछाम — निरन्तर ७ वर्षदेखि अदालतको ढोका ढकढक्याइरहेकी एक महिलाले न्याय नपाएको भन्दै सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर आत्महत्या गर्न वाध्य भएकी छिन् । यो दुखान्त हो, अछामको पञ्चदेवल विनायक नगरपालिका–९ कालेकाँडाकी ३८ वर्षीया जानकी धमलाको । उनी ७ वर्षदेखि निरन्तर प्रहरी, अदालतमा पुगेर न्यायको ढोका ढकढक्याइरहेकी थिइन् । घटनाअघि जानकीले सामाजिक सञ्जालमा आफूले भोगेको यातनाबारे पनि लामो स्ट्याटस लेखेकी छन् । उनले स्ट्याटसमा लेखेकी छन्, ‘म माइतमा गएर बसेकी थिएँ । तेरो जिम्मा म छु भनेर (ससुराले) ल्याएका हुन् । ‘ मेरा लागि कानुन पनि भएन । कोही पनि भएन ।’ उनले परिवारको निरन्तर अस्वीकार, सामाजिक बहिष्कार र मानसिक थकानको भार थेग्न नसकेर जीवन नै समाप्त गरेको लेखेकी छन् ।
जानकीले निरन्तर अन्याय, कुटपिट र अपमान सहनु परेको, छोराछोरीबाट टाढा पारिएको पीडा र कानुनप्रतिको निराशा व्यक्त गरेकी छन् । छोरीको जन्मदिनमा आमाको हैसियतले एक झलक मात्र हेर्ने चाहना राखेकी थिइन् । तर त्यो चाहना पूरा गर्न नपाई उनले धर्ती छाडिन् । उनका श्रीमान् चन्द्र धमला रोजगारीको सिलसिलामा भारतमा बस्थे । उनले भारतमा दोस्रो बिहे गरेको चाल जानकीले ७ वर्षअघि नै पाइन् । आफूलाई थाहै नदिएर दोस्रो बिहे गरेको सुइँको पाएपछि उनी सदरमुकाम मंगलसेन पुगिन् । श्रीमान् दोस्रो विवाह गरेपछि सुरु भएको उनको संघर्ष ७ वर्षसम्म अदालत, समाज र राज्यका निकायबीच अल्झिरह्यो । वडा कार्यालय, स्थानीय न्यायिक समिति, जिल्ला प्रहरी कार्यालय, जिल्ला अदालत र उच्च अदालतसम्म उनी धाइरहिन् ।
जानकीका सहोदर काका कमलबजार नगरपालिका–५ का वडाध्यक्ष सत्यराज तिमिल्सेनाका अनुसार करिब तीन वर्षअघि बहुविवाहसम्बन्धी मुद्दा अछाम जिल्ला अदालतमा दर्ता भयो । अदालतले प्रमाण नपुगेको ठहर गर्दै जानकीको विपक्षमा फैसला गर्यो । यही फैसलासँगै उनको मनोबल कमजोर हुँदै गएको काका सत्यराजले बताए । ‘समाजमा उल्टै उनीमाथि प्रश्न उठ्न थाल्यो । घर भाँड्ने, अड्डा अदालत धाएर श्रीमान्लाई दुःख दिने भनेर जानकीमाथि उनकै घरका मान्छेले आरोप लगाएका थिए,’ उनले भने, ‘छोराले जे गरे पनि बुहारीले चुपचाप सहनुपर्छ भनेर मानसिक रूपमा तनाव दिएको कुरा उनले माइतमा सधैं सुनाउँथिन् ।’
श्रीमान् ७ वर्षअघि बहुविवाह गरेको थाहा पाएपछि उनी प्रहरी र अदालतसम्म पुगेकी थिइन् । ‘माइती पक्षबाट हामीले पनि साथ दिइरहेका थियौँ । विवाहित छोरी माइतमा धेरै बसेको राम्रो हुँदैन । माइतीको बेइज्जत हुन्छ भनेर उनी श्रीमान्कै घरमा बस्न चाहन्थिन्,’ सत्यराजले भने, ‘उनको श्रीमान् भारतमा बस्ने, बीचबीचमा आएर कुटपिट गरेर जाने रहेछन् । परिवारले पनि शारीरिक र मानसिक यातना दिएको कुरा माइतमा सुनाउँथिन् ।’ पीडा भोगिरहेका बेला उनका परिवार, आफन्त र स्थानीय जनप्रतिनिधिसमेत श्रीमान्को पक्षमा उभिए । श्रीमान् दोस्रो बिहे गरेको होइन भनेर तत्कालीन वडाध्यक्ष रामबहादुर शाहीले प्रहरी अगाडि बोलेको स्वीकारे ।
‘घरको विषयमा मुद्दा मामिला गर्नु हुँदैन । गाउँमै मिलाउनुपर्छ भनेर बोलेको हुँ । त्यतिबेला चन्द्र (जानकीको श्रीमान्) ले अर्को बिहे गरेको थिएन जस्तो लाग्छ । मुद्दा अदालतसम्म जानु हुँदैन भनेर मिलाउन खोजेको मात्र हुँ,’ उनले भने । जानकीलाई भने न्याय खोज्ने होइन, ‘घर बिगार्ने’ महिलाको रूपमा आरोप लाग्न थाले । अदालतको फैसलाले मात्र होइन, समाजको व्यवहारले पनि उनी एक्लिइन् । जानकीका २ छोरा र १ छोरी छन् । अदालतको फैसलापछि उनका श्रीमान् र परिवारले छोराछोरीलाई जानकीको सम्पर्कमा आउन दिएनन् । उनी झन् एक्ली हुँदै गइन् ।
उच्च अदालतले जिल्ला अदालतको फैसला उल्ट्याउँदै बहुविवाह भएको ठहर गर्यो । उनका श्रीमान् चन्द्र र उनकी कान्छी श्रीमतीलाई एक वर्ष कैद सजाय सुनायो । फौजदारी संहिता कार्यविधि–२०७४ को दफा १५५ प्रयोग गर्दै सजाय बराबरको रकम तिरेपछि श्रीमान् जेल नबसी बाहिरिए । कानुनी रूपमा सजाय पूरा भएको मानियो । तर यही दिनदेखि जानकीको जीवन झन् असुरक्षित बन्दै गयो । निरन्तर पारिवारिक दबाब, धम्की र बहिष्कारका कारण जानकी धेरै पटक मंगलसेनस्थित सेफ हाउसमा पीडितको रूपमा बस्न थालेकी थिइन् । सेफ हाउसमा बस्दाबस्दै उनले सिलाइकटाइ पनि सिकेकी थिइन् । उनलाई मनोपरामर्श पनि सेफ हाउसबाट दिइँदै आएको थियो । नजिकका आफन्त र समाजबाट साथ नपाउँदा उनी राज्यको अस्थायी संरक्षणमै जीवन गुजार्नुपर्ने अवस्थामा पुगिन् ।
सुरक्षित आवास गृह मंगलसेनका अनुसार मनोबल बढाउन उनलाई मनोपरामर्श पनि दिइयो । तर परिवार र समाजको पूर्ण व्यवहारले उनको शारीरिक र मानसिक अवस्था कमजोर बन्दै गयो । त्यहीबेला छोराछोरीबाट समेत टाढा बनाइयो । त्यसले उनलाई थप आघात पुर्यायो । उच्च अदालतको फैसलापछि जेलमा बसेर बाहिरिएका श्रीमान्ले सम्बन्धविच्छेदको मुद्दा दायर गरे । प्रेम विवाह गरेकी जानकी सम्बन्धविच्छेदको पक्षमा थिइनन् । बरु श्रीमान्को माया र परिवारको साथ खोजिरहेकी थिइन् ।
तर श्रीमान्ले उनीसँग कुनै सरोकार राखेनन् र उल्टो सम्बन्धविच्छेदको मुद्दा दर्ता दायर गरेको जानकीका काका सत्यराजले बताए । ‘उनलाई छोराछोरीसँग भेटघाट गर्न रोक लगाइयो । आमाको भूमिकाबाट व्यवहारतः वञ्चित गरियो । न्याय खोज्दै हिँडेकी जानकीका लागि यही अवस्था सबैभन्दा ठूलो चोट बन्यो,’ काका सत्यराजले भने, ‘डिभोर्स गर्दा माइतीको बेइज्जत हुन्छ भन्ने उनको मनमा थियो । उनी त्यही गाउँमा श्रीमानको साथ खोजिरहेकी थिइन् । सम्बन्धविच्छेदको मुद्दा सायद उनले सहन सकेनन् । अहिले पनि अदालतमा विचाराधीन छ ।’
उनका अनुसार जानकीको शव जिल्ला अस्पतालमै राखिएको छ । जिल्ला प्रहरी कार्यालयमा मंगलबार आत्महत्या दुरुत्साहनविरुद्ध जाहेरी दिएको उनले बताए । ‘उनको श्रीमान् भारतमा छन् । दोषी अगाडि नआउँदासम्म शव नउठाउने अडान लिएका छौँ,’ उनले भने ।कान्तिपुरबाट


