धनगढी । सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा सुत्केरीको मृत्यु भएपछि उत्पन्न विवाद समाधान भएसँगै तेस्रो दिन मृतकको शव उठाइएको छ । अस्पताल प्रशासन र पीडित पक्षबिच नवजात शिशुको लालनपालनमा आर्थिक सहयोग गर्ने सहमति भएपछि शुक्रबार साँझ परिवारले शव बुझेका हुन् ।
कैलालीको जोशीपुर गाउँपालिका–५ की ३३ वर्षीया राधिका नेपालीको पुस २३ गते शल्यक्रियामार्फत बच्चा जन्माएपछि अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको थियो । अस्पतालले राधिकामा प्ल्यासेन्टा प्रिभिया विथ प्ल्यासेन्टा परक्रेटा साल पाठेघरको तल्लो भागमा बस्ने र पाठेघरको भित्ता छेडेर निस्कने नामक जटिल समस्या देखिएको जनाएको छ ।
उपचारमा संलग्न चिकित्सकका अनुसार यो अवस्थामा अत्यधिक रक्तस्राव हुने जोखिम रहन्छ। जसका कारण ७ पोका रगत चढाउँदा पनि उनलाई बचाउन सकिएन । यता, मृतकका आफन्तले भने नियमित चेकजाँच र भिडियो एक्सरे गर्दा उक्त जटिलताबारे जानकारी नगराइएको र शल्यक्रियाका क्रममा लापरबाही भएको भन्दै शव बुझ्न अस्वीकार गरेका थिए । उनीहरूले चिकित्सकमाथि कारबाही र उचित क्षतिपूर्तिको माग गर्दै प्रहरीमा उजुरी समेत दिएका थिए ।
अन्ततः आज जिल्ला प्रशासन कार्यालयको पहलमा भएको छलफलमा अस्पतालले मृतककी छोरीको पालनपोषणका लागि सहयोग गर्ने लिखित कागज गरेपछि विवाद टुङ्गिएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी किशोरप्रसाद श्रेष्ठले जानकारी दिए । मृतक राधिकाका श्रीमान् रोजगारीका सिलसिलामा भारतमा छन् भने नवजात शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।


