धनगढी । नेपाल चिकित्सक संघ (NMA) केन्द्रिय कार्य समितिको निर्वाचन २०८२–८५ का लागि सुदूरपश्चिम प्रदेश सयोजक (उपाध्यक्ष) पदमा टिम डा. मंगल रावलको तर्फबाट डा. निरज अर्यालले उम्मेदवारी दर्ता गरेका छन्। सेती प्रादेशिक अस्पताल धनगढी–कैलालीमा कार्यरत डा. अर्याल लामो समयदेखि चिकित्सक सेवामा समर्पित अनुभवी व्यक्तित्वका रूपमा परिचित छन्। रेडियोलोजी विषयमा स्नातकोत्तर (मास्टर्स) अध्ययन सम्पन्न गरेपछि उनी सुदूरपश्चिम फर्किएर सेवा गर्न थालेका हुन्।
विगत करिब २० वर्षदेखि निरन्तर यही क्षेत्रमा रहेर स्वास्थ्य सेवामा योगदान दिँदै आएका डा. अर्यालले सरकारी अस्पतालको सेवा प्रणाली, चिकित्सकका समस्या र सुदूरपश्चिमका स्वास्थ्य चुनौतीहरूलाई नजिकबाट अनुभूति गरेका छन्। यसअघि २०७९ सालमा सम्पन्न नेपाल चिकित्सक संघको निर्वाचनमा पनि डा. अर्याल सुदूरपश्चिम संयोजक (उपाध्यक्ष) पदका लागि उम्मेदवार बनेका थिए। सो निर्वाचनमा उनी थोरै मत अन्तरले पराजित भए पनि चिकित्सक समुदायमा उनको सक्रियता, प्रतिबद्धता र नेतृत्व क्षमताले सकारात्मक छवि बनाएको थियो।

आफ्नो उम्मेदवारीबारे प्रतिक्रिया दिँदै डा. अर्यालले सुदूरपश्चिमप्रति आफ्नो गहिरो माया र जिम्मेवारी भाव व्यक्त गरेका छन्। उनले भने, “केन्द्रीय उपाध्यक्ष एवम् सुदूरपश्चिम संयोजक भएर मैले सुदूरपश्चिमलाई गरेको माया अन्य प्रदेशमा पनि विस्तार गर्ने आधार बनोस्। सहकर्मी अग्रज तथा साथी–भाइहरूको मनमा बस्न सकूँ, उनीहरूको आवाज बन्न सकूँ र परिवर्तनको ऐना बन्न सकूँ भन्ने मेरो चाहना हो।”
डा. अर्यालको उम्मेदवारीले सुदूरपश्चिमका चिकित्सकहरूका पेशागत हकहित, कार्यस्थलका समस्या, तालिम तथा अवसरको समान पहुँच र स्वास्थ्य सेवाको गुणस्तर सुधारमा केन्द्रित एजेन्डालाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ। टिम डा. मंगल रावलले अगाडि सारेको समावेशी, अनुभवप्रधान र संस्थागत सुधारको अभियानमा डा. अर्यालको भूमिका महत्वपूर्ण हुने विश्वास समर्थकहरूले व्यक्त गरेका छन्।

नेपाल चिकित्सक संघको आगामी निर्वाचनले केन्द्रदेखि प्रदेशसम्म चिकित्सक समुदायको नेतृत्व चयन गर्ने भएकाले सुदूरपश्चिम प्रदेश सम्योजक पदको प्रतिस्पर्धालाई विशेष चासोका साथ हेरिएको छ। निर्वाचन २०८२–८५ का लागि हुने यस प्रतिस्पर्धामा डा. निरज अर्यालको उम्मेदवारीले सुदूरपश्चिमका चिकित्सकहरूको आशा र अपेक्षालाई प्रतिनिधित्व गर्ने देखिएको छ।


