धनगढी: धनगढीस्थित कैलाली अस्पतालका ल्याप्रोस्कोपी सर्जन डा. विवेक जोशीलाई एक गम्भीर घाइते बिरामीको ज्यान जोगाएको योगदानको कदर गर्दै धनगढी उपमहानगरपालिका वडा नम्बर–१७ डमौलिया गाउँका नागरिकहरूले भव्य सम्मान गरेका छन्। मृत्युको मुखबाट फर्काइएका डमौलियाका शुसिल चौधरीलाई सफल शल्यक्रिया गरी जीवनदान दिएपछि गाउँलेहरूले डा. जोशीलाई गाउँमै निम्तो गरी सम्मान गरेका हुन्।
घरायसी काम गर्ने क्रममा छातीमा धारिलो हतियार लाग्दा शुसिल चौधरी गम्भीर घाइते भएका थिए। तत्काल उपचारका लागि उनलाई विभिन्न अस्पताल पुर्याइए पनि उपचार सम्भव नभएको भन्दै केही अस्पतालहरूले फिर्ता पठाएका थिए। अवस्था जटिल बन्दै गएपछि उनलाई अन्ततः कैलाली अस्पताल पुर्याइएको थियो। अस्पताल पुग्ने बित्तिकै डा। विवेक जोशीको नेतृत्वमा चिकित्सकको टोलीले आपतकालीन शल्यक्रिया गरेको थियो। चिकित्सकहरूका अनुसार चौधरीको बाँच्ने सम्भावना केवल पाँच प्रतिशत मात्र रहेको थियो। यस्तो जोखिमपूर्ण अवस्थामा गरिएको सफल शल्यक्रिया र सघन उपचारका कारण चौधरीको ज्यान जोगिन सफल भयो। हाल उनी पूर्ण रूपमा स्वास्थ्यलाभ गरिरहेका छन् र सामान्य जीवनतर्फ फर्किसकेका छन्।
“भगवानसरह पुनर्जन्म दिएको अनुभूति”
चौधरीको जीवन जोगिएपछि डमौलिया गाउँमा खुशीको लहर छाएको छ। गाउँलेहरूले डा. विवेक जोशीलाई ‘भगवानसरह पुनर्जन्म दिने व्यक्ति’ भन्दै सम्मान गरेका हुन्। सम्मान कार्यक्रममा डा। जोशीसहित कैलाली अस्पताल परिवारलाई दोसल्ला, खादा, सम्मानपत्र तथा फूलमालाले स्वागत गरिएको थियो। घाइते शुसिल चौधरीले भावुक हुँदै आफू बाँचेकोमा डाक्टर र अस्पतालप्रति आभार व्यक्त गर्दै भने, “मलाई सबैले बाँच्ने आशा लगभग छोडिसकेका थिए। परिवार समेत निराश भइसक्यो। तर डाक्टर साबको मेहनत र भगवानको कृपाले म आज बाँचेर आफ्ना छोराछोरी र परिवारसँग फिर्ता भएको छु। उहाँले मलाई नयाँ जीवन दिनुभयो।”

डा. जोशी: “बिरामीको ज्यान जोगाउनु नै मेरो धर्म”
सम्मान कार्यक्रममा बोल्दै डा। विवेक जोशीले आफूले आफ्नो पेशागत दायित्व मात्र पूरा गरेको प्रतिक्रिया दिए। “आफुकहाँ आउने हरेक बिरामीलाई सक्दो प्रयास गरेर बचाउनु मेरो कर्तव्य हो। शुसिलजीको उपचार सफल हुनु मेरो मात्र नभई सम्पूर्ण मेडिकल टिमको सामूहिक प्रयासको परिणाम हो। आगामी दिनमा पनि अझ राम्रो र सेवामुखी उपचार सेवा दिन निरन्तर लागिरहनेछु,” उनले भने।
सेवामुखी अस्पताल भएको दाबी
कैलाली अस्पतालका अध्यक्ष जनकराज जोशीले अस्पताल सधैं सेवामुखी भावनाका साथ सञ्चालन हुँदै आएको दाबी गरे। उनले अस्पतालले सरकारी दररेटमै उपचार सेवा प्रदान गरिरहेको जानकारी दिए। “हामी व्यवसायभन्दा सेवालाई प्राथमिकतामा राखेर काम गरिरहेका छौं। गरिब, असहाय तथा विपन्न नागरिकलाई सस्तो र गुणस्तरीय उपचार सेवा उपलब्ध गराउनु नै हाम्रो प्रमुख उद्देश्य हो,” अध्यक्ष जोशीले बताए।

डमौलिया गाउँका भलमन्सा तिलक चौधरीले कैलाली अस्पतालबाट शुसिल जस्तै धेरैले पुनर्जन्म पाएको बताउँदै अस्पतालप्रति आभार व्यक्त गरे। “हाम्रो गाउँलाई कैलाली अस्पतालले धेरै माया गरेको छ। सुलभ दरमै उपचार सेवा दिँदै आएको छ। बाँच्ने सम्भावना नभएका धेरै साथीभाइहरू अहिले बाँचेर फर्किएका छन्। यस्ता भगवानरूपी डाक्टरलाई म नमन गर्न चाहन्छु,” उनले भावुक हुँदै भने। गाउँलेहरूले दुर्गम क्षेत्रका नागरिकको ज्यान जोगिएकोमा गर्व व्यक्त गर्दै भविष्यमा पनि यसरी नै सेवामुखी उपचार सेवा निरन्तर रहोस् भन्ने अपेक्षा गरेका छन्।


