बाजुरा: बुढीनन्दा नगरपालिका–२ को कोल्टी बसपार्क अहिले बसको पर्खाइमा छ। मार्तडी–कोल्टी सडकअन्तर्गत बाउलीखोलाको पुल निर्माण नहुँदा बसहरू सदरमुकाम मार्तडीमै रोकिँदा कोल्टीमा बस सेवा अवरुद्ध भएको हो। स्थानीय राधा कार्कीका अनुसार, गत माघमा एकपटक कोल्टीसम्म बस पुगेपछि नियमित सेवा हुने आशा थियो, तर अहिले फेरि पैदलै मार्तडी पुगेर बस चढ्नुपर्ने बाध्यता आएको छ। सडक गाउँसम्म पुगे पनि नियमित बस सञ्चालन नहुँदा स्थानीयलाई आवागमनमा कठिनाइ भइरहेको छ।
गत वर्षदेखि कोल्टीमा बस सञ्चालन सुरु भए पनि सडक अधूरो भएकाले लामो समय टिक्न सकेन। मार्तडी–कोल्टी सडक कालोपत्रे गर्न दुई ठेकदार कम्पनीले ९ किलोमिटरका लागि २३ करोड र बाँकी ३२ किलोमिटरसम्मका लागि ६२ करोड रुपियाँमा काम पाएका छन्।


