बाजुरा: रोजगारीका लागि भारत तथा विभिन्न सहरमा गएका बाजुराका स्थानीय दसैँ–तिहार नजिकिँदै गर्दा गाउँ फर्किन थालेका छन् । हिउँद र बर्खामा रोजगारी खोज्दै बाहिरिने उनीहरू चाँडपर्वमा भने परिवारसँगै घर फर्किने गरेका छन् । त्रिवेणी नगरपालिका–६ का प्रकाश विकले गाउँमा रोजगारीको अभाव र सिँचाइ सुविधाको कमीले भारत जानु बाध्यता भएको बताए ।
बर्खे खेती सकाएर भारत जाने र असार–मङ्सिरमा खेती लगाउने समयमा तथा चाँडपर्वका बेला गाउँ फर्किने परम्परा यहाँ पुराना पुस्तादेखि चलिआएको हो । तर पहिरो र आर्थिक अभावका कारण पछिल्ला वर्ष गाउँबस्ती झन् खाली हुँदै गएको छ । बुढीगङ्गा, त्रिवेणी, खप्तडलगायतका क्षेत्रका धेरै स्थानीय रोजगारीकै कारण बाहिरिन बाध्य छन् ।
बाम्का बजारका बस टिकट काउन्टर इन्चार्ज जनक बुढाका अनुसार यसअघि बस खाली गाउँतिर जाँदै आएकोमा अहिले तल्लो डेकसम्म भरिभराउ यात्रु फर्किन थालेका छन् ।


