बाजुरा –बाजुराको मार्तडी–कोल्टी सडक अवरुद्ध बनेको चार महिनापछि बल्ल मर्मत सम्भार काम सुरु गरिएको छ । भौतिक पूर्वाधार विकास कार्यालय अछामले यहाँका पालिकालाई समन्वय गरेर विगत चार महिनादेखि अवरुद्ध भएको सो सडक दसैँ अगावै सञ्चालनमा ल्याउने गरी मर्मतको काम सुरु गरिएको हो । मार्तडी कोल्टी सडक अवरुद्ध हुँदा जिल्लाको पूर्वीउत्तर क्षेत्रमा पर्ने हिमाली, स्वामिकार्तिक खापर, जगनाथ र बुढीनन्दा नगरपालिकाका स्थानीयले जेठदेखि असोजसम्म मार्तडी आउन जान निकै सास्ती खेप्दै आएका छन ।
बुढीनन्दा नगरपालिका अधिकांश किसान फलफुल तथा तरकारी खेती गर्दै आएका छन् । उनीहरु प्रत्येक वर्ष त्यहि बिक्री गरेर दसैँको जोहो गर्ने गर्छन् । तर यता मार्तडी–कोल्टी सडक भने अझै अवरुद्ध बनेको छ । फलफुल पाक्ने बेलामा नै सडक अवरुद्ध हुने गरेकोले यहाँका स्थानीयलाई आफूले उत्पादन गरेका ती स्तु कहाँ लिएर बिक्री गर्ने चिन्ता थियो । ढिलै भएपनि अहिले बाटो मर्मतको काम सुरु गरेपछि अहिले उनीहरुमा समेत बजारमा तरकारी लिएर बिक्री गर्ने आश पलाएको छ ।
भाौतिक पूर्वाधारको समन्वयमा असोज ३ गतेदेखि पालिकाको डोजरले कोल्टी मार्तडी सडक मर्मत कार्यको काम सुरु गरेको बुढीनन्दा नगरपालिका प्रवक्ता जङ्गबीर रोकायाले बताए । उनले भौतिक पूर्वाधारसँगै स्थानीयको सरकारको पनि दायित्य रहेकोले हामीले यती बेला भौतिक पूर्वाधारकै समन्वयमा सहकार्यमा कोल्टी देखि मार्तडीसम्मको सडक मर्मत गर्न सुरु गरिएको बताए ।
मार्तडीदेखि कोल्टीसम्म झण्डै ४२ किलोमिटर मात्र सडक पर्छ । यसमा झण्डै १४ किलोमिटर बडीमालिका नगरपालिकाकै क्षेत्रमा पर्छ । यता बुढीनन्दा नगरपालिकाको क्षेत्रमा २८ किलोमिटर पर्छ । वर्खाको पानीले यो सडक तहस नहस पारेपछि यहाँ चल्ने सवारी साधन विगत चार महिना देखि मार्तडीमै रोकिएका छन् ।


