धनगढी । आगामी २८ भदौमा हुने चुनावका लागि कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पदका उम्मेदवार पुष्कर ओझा नेतृत्वको प्यानल घोषणा गरिएको छ । व्यवसायीको हित, सबल नेतृत्वको जीत” नारासहित अध्यक्षका उम्मेदवार ओझाले सोमबार धनगढीमा विशेष कार्यक्रम गर्दै प्यानल घोषणा गरेका हुन् भने १५ बुँदे घोषणापत्र समेत सार्वजनिक गरिएको छ ।
घोषणापत्रमा उद्योग व्यवसायीलाई दुर्घटना बीमा सुविधा निःशुल्क उपलब्ध गराउने, विद्युत् तथा संकट प्रभावित व्यवसायीलाई राहत तथा पुनःस्थापना कार्यक्रम सञ्चालन गर्ने, घर, पसल तथा गुदाममा सुरक्षा प्रणाली लागू गर्ने लगायतका कार्यक्रम समावेश छन्।
त्यसैगरी, उद्योग व्यवसायीलाई डिजिटलाइज गर्ने, कर प्रणाली सरलीकरणका लागि सरकारी निकायसँग सहकार्य गर्ने, व्यवसायीले भोग्नुपर्ने प्रशासनिक समस्यामा सुधार ल्याउने, पर्यटन, कृषि, औद्योगिक उत्पादनलाई प्रवद्र्धन गर्ने लगायतका योजनाहरू प्रस्तुत गरिएको छ।
घोषणापत्रमा स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै “मेडइन सुदूरपश्चिम” अभियान सञ्चालन गर्ने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा “सुदूरपश्चिम एक्सपो” आयोजना गर्ने प्रतिबद्धता राखिएको छ। साथै, व्यवसायलाई आकर्षित गर्न भारत र नेपालका उद्योगी, लगानीकर्तालाई लक्षित गर्दै लगानी सम्मेलन गर्ने घोषणा पनि गरिएको छ।
प्यानलका उम्मेदवारहरूले आफ्नो घोषणापत्र व्यवसायीको आवश्यकता र समस्यालाई सम्बोधन गर्ने खालको रहेको दाबी गरेका छन्। उनीहरूले युवालाई उद्यमशीलता, रोजगारी र सीप विकासमार्फत आत्मनिर्भर बनाउन योगदान गर्ने बताएका छन्।
ओझा प्यानलले व्यवसायीलाई निःशुल्क बीमा सुविधा, विद्युत् तथा संकट प्रभावित व्यवसायीका लागि राहत कार्यक्रम ल्याउने बताएको छ। घर–पसलमा सुरक्षा प्रणाली जडान गर्न तथा व्यवसायीलाई डिजिटलाइज गर्ने योजना ल्याउने ओझा प्यानले प्रतिबद्धता सार्वजनिक गरेको छ।
कुन पदमा को उम्मेदवार ?
नयाँ कार्यसमितिका लागि पुष्कर राज ओझाको नेतृत्वमा प्यानल खडा गरिएको छ। प्यानलमा वरिष्ठ उपाध्यक्षमा ओम बहादुर बिष्ट, उपाध्यक्ष उद्योग तर्फ वासुदेव भट्ट, उपाध्यक्ष एसोसिएट तर्फ मनोज अग्रवाल, उपाध्यक्ष वाणिज्य तर्फ गगनराज केसी, उपाध्यक्ष वस्तुगत तर्फ भीमराज ओझा अबु महासचिवमा दिनेश लम्साल, कोषाध्यक्षमा सुरेन्द्र बहादुर कडायत र सचिवमा कृष्ण कुमारी बिष्टको उम्मेदवारी रहने भएको छ।
ओझा प्यानलमा सदस्यमा अजय पाण्डेय, सुरेश सापकोटा, बम बहादुर कुँवर, ध्रुबराज दाहाल, कमला भट्टराई, पदमबहादुर सिंह, प्रजापति जोशी, रेखा बास्तोला, सुरज बहादुर रैका, तर्कराज भट्ट, टेकबहादुर खड्का, अनुप भण्डारी र बिन्दु सुनारको नाम समावेश गरिएको छ।
“व्यवसायीको हित, सबल नेतृत्वको जीत” नारासहित प्रस्तुत घोषणापत्रमा व्यवसायीको सुरक्षा, पारदर्शिता, सहकार्य, डिजिटलाइजेसन र स्थानीय उत्पादन प्रवद्र्धनलाई विशेष प्राथमिकता दिइएको छ।
ओझाले प्यानल घोषणा गर्दै भने, “हामी युवाको उत्साह, अनुभवी व्यवसायीको ज्ञान र इमान्दार नेतृत्वको संयोजन हौं। उद्यमशीलता, समृद्धि र सुरक्षाको बाटोमा सबै व्यवसायीलाई साथ लिएर अघि बढ्ने हाम्रो उद्देश्य हो।”
घोषणापत्रका १५ प्रमुख प्रतिबद्धता
प्यानलले प्रस्तुत गरेका १५ प्रतिबद्धतामध्ये केही उल्लेख्य बुँदाहरू यसप्रकार छन्
प्रत्येक व्यवसायीलाई रु। १ लाख बराबरको निःशुल्क दुर्घटना बीमा सुविधा।
संकटमा परेका व्यवसायीलाई तत्काल राहत र पुनःस्थापनामा सहयोग।
घरभाडा, कर, पार्किङ, अवैधानिक आयात लगायतका समस्यामा तीनै तहका सरकारसँग समन्वय।
संघलाई पूर्ण रूपमा डिजिटलाइजेसन गर्दै सबै आय–व्यय पारदर्शी बनाउने।
बैंकिङ, कर, भन्सार तथा बीमा क्लेम समस्याको समाधानका लागि पाँच सदस्यीय फास्ट ट्रयाक समिति गठन।
महिला र युवा व्यवसायीका लागि स्टार्टअप समर्थन कार्यक्रम तथा क्ष्लअगदबतष्यल ऋभलतभच स्थापना।
मानव स्रोत केन्द्र स्थापना गरी सिपमूलक तालिम र व्यावसायिक परामर्श निःशुल्क उपलब्ध गराउने।
पर्यावरण प्रवद्र्धन, हरियाली अभियानमा सहकार्य र ‘सुन्दर सुदूरपश्चिम अभियान’ पुनर्जीवित गर्ने।
अभियानमार्फत स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्ने।
भारतका उत्तराखण्ड र उत्तर प्रदेशका व्यापार मण्डलसँग सहकार्य गर्दै आयोजना गर्ने।
व्यवसायमैत्री वातावरणको वचन
ओझा समूहले आफ्नो घोषणापत्रमा व्यवसायीलाई सुरक्षित वातावरण सिर्जना गर्ने, युवा र महिला उद्यमशीलतालाई प्राथमिकता दिने तथा जिल्लाका सबै नगर उद्योग वाणिज्य संघसँग सहकार्य गर्दै नेतृत्वकारी भूमिका निर्वाह गर्ने अठोट व्यक्त गरेको छ।कार्यक्रममा सहभागी व्यवसायी तथा सरोकारवालाले घोषणापत्रलाई व्यवसायमैत्री, समय सान्दर्भिक र व्यावहारिक प्रतिबद्धता भएको भन्दै स्वागत गरेका थिए।
यस अघि हिजो रुपेस स्वाँरको प्यानलले उम्मेदवारी घोषणा गरेको थियो । व्वार प्यानल बाट केशवराज जोशी वरिष्ठ उपाध्यक्ष लड्ने भएका छन्। उनी वर्तमान उपाध्यक्ष पनि हुन्। यस्तै, उपाध्यक्ष उद्योगमा लक्ष्मणराज पन्त, एसोसियट उपाध्यक्षमा अनिलकुमार भुजनिया, वाणिज्य उपाध्यक्षमा राधिका चौधरी र वस्तुगत उपाध्यक्षमा सिद्धराज पनेरु उम्मेदवार रहेका छन्। स्वाँर प्यानलबाट महासचिवमा सुरेश पाण्डेय, कोषाध्यक्षमा तिलक बोहरा र सचिवमा प्रकाशकुमार चन्द स्वाँर प्यानलबाट उम्मेदवार रहेका छन्। सदस्यमा रुपेश खड्का, अम्बिका भण्डारी, मिलन कुँवर, प्रेमबहादुर धामी, भरतबहादुर थापा, नेत्रप्रसाद तिवारी, देवराज जोशी, तेज बम, शुभशंकर ठाकुर, दिपेश राठोर, अमर चोखाल, प्रमिला पाठक र मन्जु भट्ट उम्मेदवार छन्। घोषणा कार्यक्रममा कैलाली उद्योग वाणिज्य संघका वर्तमान अध्यक्ष पुष्पराज कुँवर पनि सहभागी थिए ।
स्वाँर ०७५ पुसमा भएको संघको निर्वाचनमा अध्यक्षका प्रत्यासी थिए। उनी उक्त निर्वाचनमा पुष्पराज कुँवरसंग ७९ मतले पराजित भएका थिए। ०७९ जेठमा भएको निर्वाचनमा भने उनी चुनाव लडेका थिएनन्।

