धनगढी । भूमि समस्या समाधान आयोग दार्चुलाले यहाँका ७२ जना अव्यवस्थित बसोबासीलाई जग्गाधनी लालपूर्जा वितरण गरेको छ । विगतका आयोग, समिति र कार्यदलबाट काम बाँकी रहेका अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गरिएको भूमि समस्या समाधान आयोग, जिल्ला समिति दार्चुलाका अध्यक्ष लालसिंह धामीले जानकारी दिए ।
भूमिहीन दलित, भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीको लगत सङ्कलनसम्बन्धी कार्यविधि–२०७८ अनुसार जग्गाको नापजाँच, फिल्ड मुचुल्का, राजस्व सङ्कलनलगायतका आवश्यक प्रक्रिया पूरा गरेर अव्यवस्थित बसोबासीलाई प्रमाणपुर्जा वितरण गरिएको दार्चुला जिल्ला समितिका सदस्यसचिव एवं नापी कार्यालय दार्चुलाका कार्यालय प्रमुख टिकेन्द्रसिंह धामीले बताए ।
राष्ट्रिय भूमि आयोग हुँदा आर्थिक वर्ष २०८०र८१ मा दुहुँ गाउँपालिका–४, धामी बोहरीगाउँका २० जना अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको उहाँले जानकारी दिनुभयो । भूमि समस्या समाधान आयोगबाट गत आव २०८१र८२ मा शैल्यशिखर नगरपालिका–६ का ४७ जना अव्यवस्थित बसोबासीलाई असार ३० गते प्रमाणपुर्जा वितरण गरिएको उनले बताए ।
चालु आव २०८२र८३ मा शैल्यशिखर नगरपालिका–६ कै थप पाँच जनालाई बुधबार एक कार्यक्रमबिच जिल्ला समन्वय समितिको कार्यालय खलङ्गामा लालपुर्जा वितरण गरिएको अध्यक्ष धामीले जानकारी दिनुभयो । भूमि आयोग गठन भएपछि जिल्लामा दोस्रो पटक जग्गाधनी लालपुर्जा वितरण गरिएको उहाँले बताउनुभयो । संविधान सभा सदस्य एवं एमाले पोलिटब्युरो सदस्य गणेशसिंह ठगुन्नाको प्रमुख आतिथ्यतामा शैल्यशिखर–६ का थप पाँच जनालाई लालपुर्जा वितरण गरिएको उनले बताए ।
हालसम्म दार्चुलामा ८१ जनाको फाइल तयार भइसकेको आयोगले जनाएको छ । फाइल तयार भएपछि जग्गाधनीले लगत अनुसार राजस्व बुझाएपछि प्रमाणपुर्जा उपलब्ध गराउने व्यवस्था गरिएको सदस्यसचिव धामीले बताउनुभयो । दार्चुलामा भूमिहीन दलित १४६ जना, सुकुमवासी ६७ जना र अव्यवस्थित बसोबासी एक हजार ५६० जनाले आयोगमा निवेदन दिएका छन् ।

