धनगढी । चुरे बस्तीमा पक्की सिँचाइ कुलो निर्माण भएपछि स्थानीयका लागि बहुउपयोगी बनेको छ । भित्रीमधेश क्षेत्र चुरेको आलितालबाट परशुराम नगरपालिका हुँदै महाकाली नदीमा मिसिने रङ्गुन खोलाबाट पक्की कुलो निर्माण गरिएपछि खेतमा सिँचाइसँगै घरपालुवा जनावरलाई पानी खुवाउन र सरसफाइका लागि स्थानीयलाई सहज भएको छ ।
पक्की कुलो निर्माण गरिएपछि आलिताल गाउँपालिका–५ को भाँवर गाउँका ४० बढी घरधुरीको सयौँ रोपनी जमिनमा सहज सिँचाइको पहुँच भएको छ । साथै स्थानीयलाई अन्य कामका लागि पानी उपयोग गर्न सहज भएको स्थानीय गगन रावतले बताए ।
जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय डडेलधुराको गत आर्थिक वर्ष २०८१ र ८२ मा २० लाख रुपियाँ लागतमा सुन्दर नगर तल्लो भावर सिँचाइ योजना निर्माण गरिएको थियो । चुरेको रङ्गुन खोलाबाट करिब ३२० मिटर लामो कुलो निर्माण गरिएको सुन्दरनगर तल्लो भाँवर सिँचाइ योजना उपभोक्ता समितिका अध्यक्षसमेत रहनुभएका रावतले बताए ।


