डडेल्धुरा — सुदूरपश्चिम प्रदेशकी सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काले शिक्षालाई प्रविधिमैत्री बनाउन संघ, प्रदेश र स्थानीय तहका सरकार एकजुट भएर काम गर्नुपर्ने बताएकी छन् । बिहीबार डडेल्धुराको अमरगढी नगरपालिका–२ मा अवस्थित बैजनाथ माध्यमिक विद्यालयमा आयोजित ‘प्रदेश स्तरीय विज्ञान–गणित शैक्षिक प्रदर्शनी’ उदघाटन गर्दै उनले प्रविधिको युगसँग कदम मिलाएर हिँड्न शिक्षामा प्रविधिको प्रयोग अत्यावश्यक भएको बताइन् । उनले यसका लागि तीनै तहको नीतिगत प्राथमिकता हुन जरुरी रहेको बताइन् ।
उनले सरकारी विद्यालयहरूले सीमित स्रोतसाधनमा पनि यस्ता प्रदर्शनी आयोजना गर्नु प्रेरणादायी भएको भन्दै विद्यार्थीको प्रस्तुति देखेर आफू अचम्मित भएको बताइन् । ‘विज्ञान र प्रविधिमा सोच बनाइरहेका बालबालिकाको पहिचान गरी सरकारले प्रोत्साहन गर्नुपर्छ,’ उनले भनिन्, ‘सुदूरपश्चिममै आविष्कार केन्द्र स्थापना गर्नु अबको आवश्यकता हो ।’ राज्यमन्त्री खड्काले शिक्षा र स्वास्थ्यलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको भन्दै सुदूरपश्चिमका सबै जिल्लामा पूर्वाधार र गुणस्तर सुधारका कार्यक्रम अघि बढाइएको बताइन् । साथै, उनले वितरणमुखी बजेट प्रणाली विद्यार्थीको आवश्यकता र मनोभावनाअनुसार पुनःसंरचना गर्नुपर्ने आवश्यकतामा पनि जोड दिइन् ।
शिक्षा विकास निर्देशनालय डोटीको आयोजनामा र बैजनाथ मावि मौरडाको व्यवस्थापनमा सम्पन्न सो प्रदर्शनीमा सुदूरपश्चिम प्रदेशका पाँच जिल्लाका ६ विद्यालय सहभागी थिए । डडेल्धुराको बैजनाथ मावि मौरडा, बाजुराको भानोदय मावि नौविस, दार्चुलाको मालिकार्जुन मावि धाप, कैलालीको सत्यवती एकेडेमी र कञ्चनपुरको महेन्द्रनगर मावि तथा लक्ष्मी माविले प्रदर्शनीमा भाग लिएका थिए । विद्यार्थीहरूले विज्ञान र गणितलाई दैनिक जीवनसँग जोडेर बनाएका मोडेल र प्रयोगशाला प्रस्तुति प्रदर्शनीमा प्रस्तुत गरेका थिए । विभिन्न वैज्ञानिक प्रविधि, डिजिटल गणनाको सरल विधि, ऊर्जा संरक्षण, पर्यावरणीय चेतना, मापन विधिहरू, स्थानीय स्रोतको उपयोग र गणितीय सूत्रको व्यावहारिक प्रयोगलगायतका विषयमा विद्यार्थीले आफ्ना आविष्कारात्मक प्रदर्शन गरेका थिए ।
कार्यक्रममा शिक्षा विकास निर्देशनालयका महानिर्देशक दुर्गादत्त विष्टले यस्ता प्रदर्शनीले विद्यार्थीको आत्मविश्वास बढाउनुका साथै नवप्रतिभा उजागर गर्ने बताए । ‘शिक्षालाई केवल किताबी ज्ञानमै सीमित राख्नु भएन,’ उनले भने, ‘प्रयोगात्मक बनाउने दिशामा यस्तै प्रयासले सघाउ पुर्याउँछन् ।’बैजनाथ माविका प्रधानाध्यापक मोहनसिंह धामीले विद्यार्थीको प्रतिभा, सोच र अनुसन्धान क्षमताको विकासका लागि यस्ता प्रदर्शनीले महत्त्वपूर्ण भूमिका खेल्ने बताए । उनले शिक्षालाई जीवित बनाउने यस्ता कार्यक्रमले विद्यार्थीलाई व्यावहारिक ज्ञान र जीवनोपयोगी सीप सिकाउने धारणा पनि व्यक्त गरे ।
उत्कृष्ट प्रदर्शनी गर्ने विद्यालय र विद्यार्थीहरूलाई प्रमाणपत्र, ट्रफी र नगद पुरस्कार प्रदान गरिएको थियो । विज्ञान प्रदर्शनीतर्फ डडेल्धुराको बैजनाथ मावि प्रथम, कञ्चनपुरको महेन्द्रनगर मावि द्वितीय र कैलालीको सत्यवती एकेडेमी तृतीय भएका थिए । गणित प्रदर्शनीतर्फ कञ्चनपुरको लक्ष्मी मावि प्रथम, डडेल्धुराको बैजनाथ मावि द्वितीय र सत्यवती एकेडेमी तृतीय भएका छन् ।


