डडेल्धुरा — बसपार्कमा बसेर फाटेका जुत्ता–चप्पल सिउन थालेको २५ वर्षभन्दा बढी भयो । हिजोआज मानिसहरू यसलाई सानो काम भन्छन्, तर यो काममै म बूढो भएँ, सन्तान हुर्के, बुढेसकालमा पनि पेट पाल्न सक्ने एउटा भर पर्दो माध्यम यही भएको छ । म जुत्ता सिउँछु । उमेर ७२ वर्ष पुग्यो । जीउ थाकिसकेको छ, लाग्छ जीवन छउन्जेल यही सियो, यही धागोको सहारामा डडेल्धुरामै जीवन बित्छ । पहिलेजस्तो अहिले आँखा राम्ररी देख्दिनँ, तर हातका औंलाले अझै सियो समात्न सक्छन् । र, म अझै पनि जुत्ता सिउँछु । यही मेरो जीवन हो, यही मेरो कर्म ।
म अमरगढी नगरपालिका–३ जोशीनामा बस्छु । परिवार ठूलो थियो, अब त छोराहरू अलग भइसके, छोरीहरूको पनि बिहे भइसक्यो । अहिले म र मेरी बुढी मात्रै छौं । बिहानको सात बज्दा नबज्दै घरबाट नास्ता खाएर काममा निस्कन्छु । कहिले रोटी बाँधेर ल्याउँछु, कहिले त्यत्तिकै निस्कन्छु । जोशीनादेखि सदरमुकाम आउन ५० रुपैयाँ अटो भाडा तिर्नुपर्छ । बेलुकी फर्किंदा पनि त्यत्ति नै बुझाउने हो । दिनको सिधै सय रुपैयाँ त आउन–जानमै सकिन्छ । कहिलेकाँही कमाई कत्ति पनि हुन्न, त्यसैले नास्ता ल्याएर बस्ने बानी बनाएको छु । बसपार्क छेउ २५ वर्षदेखिको मेरो कर्मथलो हो । यहीँ एउटा बोरी बिछ्याएको छु । त्यसैमा सुल, सियो, धागो लगायत अन्य आवश्यक सामान छन् । ग्राहक आउँछन्, कसैले जुत्ता फाटेको देखाउँछन्, कसैले चप्पलको फित्तो टुटेको । म ध्यान दिएर हेर्छु, चुपचाप टालिदिन्छु र ग्राहक खुसी हुँदै ज्याला दिएर बाटो लाग्छन् । सुरुका दिनहरू सम्झँदा पनि अचम्म लाग्छ । पहिलोपटक कसैले पाँच रुपैयाँ दिएको सम्झना छ । त्यतिबेलाको पाँच रुपैयाँ अहिलेको ५० बराबर थियो ।
जीवनका धेरै दिनहरू भोकभोकै सुतिएको छ । बिहान रोटी ल्याएर आएको दिन, दिउँसो चिया मात्र पिउँछु । कहिलेकाहीँ ग्राहक धेरै भएर ७/८ सय कमाएको दिन पनि हुन्छ । यस्तै दिनहरूमा मसिनो खान मन लाग्छ, कहिले २ सय रुपैयाँको मासु पनि किन्छु । २ सयको मासु घर लगेर बुढाबुढी खान्छौं । तर त्यसको स्वादभन्दा पनि त्यस्तो दिनको सन्तोष मीठो लाग्छ । यो दिन सधैं आउँदैन महिनामा १/२ पटक मात्रै हो । यो बाहेक सधैं घरमा सामान्य खाना पाक्छ । मिठो मसिनो खान हामीले चाडवाड पर्खिनुपर्छ । तर, चाँडपर्वमा पनि काम छोड्यो भने कमाइ हुन्न । मेरा तीन छोरा र दुई छोरी हुन् । छोरीलाई विवाह गरेर पठाएँ, छोरा आफ्नो गृहस्थीमा व्यस्त छन् । अलग छन् हामीबाट । उनीहरूसँग कुनै गुनासो छैन । बस्, उनीहरूले पनि आफ्नो परिवार राम्ररी पाल्न सकून् भन्ने चाहना मात्रै छ ।
जुत्ता सिउन धेरै सामान चाहिन्छ । सुल, सियो, धागो आदि । सामान किन्न मासिक हजार–पन्ध्र सयसम्म खर्च हुन्छ । काम छाड्न सक्दिनँ । एक दिन पनि सियो नसमाउँदा लाग्छ– जीवन नै थमिएजस्तो । यही सियो र धागो नै मेरो जिन्दगी हो । बुबा र बाजेले पनि यही काम गर्नुहुन्थ्यो । मैले स्कूल पढिनँ, तर यही काममा हात चल्दै गयो । मैले बाआमाको भरथेग गरेँ, अहिले आफूलाई र श्रीमतीलाई पालिरहेको छु । कहिलेकाहीँ त दिनभर १ रुपैयाँ पनि कमाइ हुँदैन । कसैले पनि जुत्ता सिउन ल्याउँदैनन् । यस्ता दिन भोकभोकै घर फर्केको छु । शरीर कमजोर भइसकेको छ, तर मन अझै बलियो छ । किनभने मलाई थाहा छ– मान्छले आफ्नो काममा सन्तोष गर्न सक्नुपर्छ ।
यो उमेरमा पनि बसपार्कमा बसेर जुत्ता–चप्पल सिउँदै छु । मैले सधैं काम नै विश्राम ठानेँ । बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म यही बोरीमा बसेर काम गरिरहेको हुन्छु । कसैले बुट ल्याउँछ, कसैले चप्पल, कसैले जुत्ती । पुरै सिएर फर्काउँछु । बुट सिएर कहिलेकाहीँ १५० सम्म दिने गर्दछन् । जुत्ता पोलिस गरेर फर्काइदिँदा ५० रुपैयाँ पाउँछु । तर दिनभर ३/४ सय कमाउन सहज छैन ।
महँगी कस्तो छ भने आज त्यो ३/४ सय कमाएर नुन, तेल, साबुन, चिनी, तरकारी, चामल सबै किन्न पुग्दैन । यस्तो बेला, सरकारले दिने वृद्धभत्ता नै जीवनको ठूलो सहारा बनेको छ । म वृद्धभत्ता पनि बुझ्छु । बिरामी परियो, चेकजाँच गर्नुपर्यो भने त्यही पैसा काम लाग्छ । अब केही समयपछि सायद म सियो राख्नेछु । अब यो बोरी खाली हुनेछ । तर म मर्नेछु भने पनि यही आत्म–सम्मान बोकेर मर्छु, मैले कसैसामु हात फैलाएर होइन, आफ्नो पसिना बगाएर जीवन काटेँ ।कान्तिपुरबाट