धनगढी । नेपाल भारत सीमा क्षेत्र गौरीफन्टा नाकालाई व्यवस्थित गर्न पहल गर्ने परराष्ट्र मन्त्री डा आरजु राणा देउवाको भनाई छ । बिहीबार अनुगमनका क्रममा गौरीफन्टा नाकालाई थप व्यवस्थित गर्न आफूले पहल गर्ने उनले बताइन् ।
गौरीफन्टा नाका भएर दैनिक हजारौ सुदूरपश्चिमेलीहरू भारत तथा नेपाल आउजाउ गर्ने गर्छन् । त्यही नाका व्यवस्थित नहुँदा यात्रुहरूले सास्ती खेप्नु परेको गुनासो सुन्दै परराष्ट्रमन्त्री राणाले धनगढी आफ्नो निर्वाचन क्षेत्र भएको र यहाँको सीमा क्षेत्र व्यवस्थित बनाउनका लागि के के गर्नुपर्छ यथाशीघ्र लेखेर पठाउन भन्सार प्रमुख अनन्तराज तिमिल्सिना, प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाल तथा सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिइन् ।
अनुगमनकै क्रममा परराष्ट्रमन्त्री राणाले गौरीफन्टा नाका क्षेत्रमा पुगेर प्रहरी बिट, बसपार्क, सडक र शौचालयलाई व्यवस्थित बनाउनका लागि लेखेर आफूलाई पठाउन निर्देशन दिँदै सडक थोत्रो भयो, सीमा क्षेत्रमा हामीले राम्रो सडक बनाउनुपर्छ, जसले अन्तर्राष्ट्रिय क्षेत्रमा राम्रो छवि जान्छ । यसका लागि म पहल गर्छु ।’’ उनले भारतले प्रतिबद्धता गरे अनुसार सडक सुधार गरेको र नेपालतर्फको सडकको हालत उस्तै रहेकाले सुधार गर्नुपर्नेमा जोड दिइन् । दुधुवा नेश्नल पार्कमा चौडा सडक बनाउन भारत सरकारको कानुनी अल्झनका कारण रोकिएको बताउँदै राणाले ,‘‘प्रतिबद्धता अनुसार कालोपत्रेको काम भने गरेका छन् ।’’
यस्तै भारतबाट गौरीफन्टा नाका हुँदै नेपाल फर्कने नेपालीहरूमा कोरोना भाइरसको सङ्क्रमण देखिएकाले उहाँले निर्माण भएका क्वारेन्टाइनलाई तुरुन्तै व्यवस्थित गर्न पनि जिल्ला प्रशासन कार्यालय कैलालीलाई निर्देशन दिइन् ।
गौरीफन्टा नाका व्यवस्थित गर्नसके धनगढी मात्रै नभई समग्र सुदूरपश्चिमकै विकासमा टेवा पुग्ने उनको भनाई छ । यतिखेर काम गर्न सकिने वातावरण छ, जे समस्या हो लेखेर पठाउनुस्, म माथिबाट पहल गर्छु ।


