डडेलधुरा —स्थानीय तहले निर्माण गर्ने नीति, कार्यक्रम तथा बजेटमा नागरिकको सहभागिता बढाउने उद्देश्यले डडेलधुरामा प्रदेशस्तरीय छलफल बुधबारबाट सुरु भएको छ । निड्स नेपाल र सामाजिक सुरक्षा नेटवर्कको आयोजनामा सुरु भएको कार्यक्रम बिहीबारसम्म चल्नेछ ।
‘सामाजिक सुरक्षा र समावेशी नीति निर्माणका लागि नागरिक सहभागिता’ नाराका साथ सुरु भएको कार्यक्रममा सुदूरपश्चिम प्रदेशका १० स्थानीय तहका प्रमुख, उपप्रमुख तथा कर्मचारीहरू गरी ४५ जना सहभागी छन् ।
कार्यक्रममा कञ्चनपुरको बेलौरी नगरपालिका, कैलालीको धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका, चुरे गाउँपालिका, डोटीको जोरायल गाउँपालिका र दिपायल–सिलगढी नगरपालिका, बाजुराको बडिमालिका नगरपालिका, बझाङको मष्टा गाउँपालिका, खप्तडछान्ना गाउँपालिका र दुर्गाथली गाउँपालिकाका प्रतिनिधिहरूको सहभागिता रहेको छ ।
कार्यक्रमको उद्देश्य नागरिक अधिकारलाई प्राथमिकतामा राखेर योजना निर्माण प्रक्रियालाई सहभागीमूलक बनाउनु रहेको आयोजकले जनाएका छन् । कार्यक्रममा सामाजिक सुरक्षा नेटवर्कका महासचिव गोपाल थापामगरले नागरिक सहभागिताबिना नीति तथा कार्यक्रम अधुरा हुने भन्दै यस्तो छलफलले नीति निर्माणलाई सही दिशा दिने विश्वास व्यक्त गरे । ‘हामी महिला, बालबालिका र पछाडि परेका समुदायका पक्षमा सामाजिक सुरक्षा सुनिश्चित गर्न काम गर्दै आएका छौं,’ उनले भने ।
सरोकारवाला निकायको समन्वयमा बालबालिका, महिला र पिछडिएकाहरुको क्षेत्रमा काम गरिरहेको उनले बताए । कार्यक्रममा सहभागी बडिमालिका नगरपालिका बाजुराका नगर प्रमुख अमरबहादुर खड्काले नीति कार्यक्रम बनाउँदा नागरिक लाभान्वित हुने कि नहुने भन्ने प्रश्नमै छलफल केन्द्रित भएको बताए । ‘पार्टी निकट नभई जनता निकट भएर योजना बनाउनु जरुरी छ । नागरिक संलग्नताबिना बनाइने नीति अधुरो हुन्छ,’ उनले भने । जनतामैत्री बजेट निर्माण गर्न यो छलफल महत्वपूर्ण रहेको उनको भनाइ छ ।


