डडेलधुरा — सुदूरपश्चिम प्रदेशबाट वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिनेको संख्या डेढ दशकमा साढे २ लाख नाघेको छ । प्रदेशमा आर्थिक वर्ष २०६४/०६५ देखि २०८१ सालको फागुन मसान्तसम्म श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति लिने व्यक्तिको संख्या २ लाख ५२ हजार ६४६ रहेको तथ्यांक सार्वजनिक भएको हो । तीमध्ये २ लाख ४३ हजार ४५६ पुरुष तथा ९ हजार १९० महिला रहेका छन् । सामाजिक विकास मन्त्रालयको आयोजनामा आइतबार डडेलधुरामा आयोजित अन्तरक्रिया कार्यक्रममा उक्त तथ्यांक सार्वजनिक गरिएको हो ।
कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव हेमराज रेग्मीले कार्यक्रमबारे विस्तृत जानकारी गराउँदै विभिन्न तहका सरोकारवालाबीच सहकार्य र सहजीकरण आवश्यक रहेको बताए । वैदेशिक रोजगारसम्बन्धी कानुनी पक्षबारे डडेलधुराका सहायक प्रमुख जिल्ला अधिकारी द्वारिका ओझाले प्रकाश पारे । उनले चालु आर्थिक वर्षमा मात्रै तीनवटा वैदेशिक रोजगार ठगीसम्बन्धी उजुरी प्रशासन कार्यालयमा परेको जानकारी दिए । उनले वैदेशिक रोजगार ऐन तथा कानुनी प्रावधानबारे जानकारी दिँदै भने, ‘चालु आर्थिक वर्षमा मात्रै तीनवटा वैदेशिक रोजगार ठगीसम्बन्धी उजुरी प्रशासन कार्यालयमा दर्ता भएका छन्, यो चेतनामूलक अभियानको खाँचो देखिन्छ ।’
सुदूरपश्चिम प्रदेशमा सञ्चालन भइरहेको सुरक्षित आप्रवासन ९सामी० कार्यक्रम हाल प्रदेशका विभिन्न जिल्लाका १४ स्थानीय तहमा सञ्चालनमा छ । सुरक्षित आप्रवासन कार्यक्रमका सुदूरपश्चिम प्रदेशका व्यवस्थापक पञ्चराम चौधरीले यो कार्यक्रम सबै पालिकामा लागू हुनु पर्ने धारण राखे । उनका अनुसार डडेलधुराको अमरगढी नगरपालिका, बैतडीको दशरथचन्द नगरपालिका, दार्चुलाको महाकाली नगरपालिका, अछामको मंगलसेन नगरपालिका, बझाङको जयपृथ्वी नगरपालिका, बाजुराको बडिमालिका नगरपालिका, डोटीको दिपायल शिलगढी नगरपालिका, कंचनपुरको भिमदत्त नगरपालिका, कैलालीमा धनगढी उपमहानगरपालिका, टिकापुर, घोडाघोडी, गोदावरी, गौरीगंगा नगरपालिका र जानकी गाउँपालिकामा उक्त कार्यक्रम सञ्चालन भइरहेको छ ।
आगामी आर्थिक वर्षमा सुदूरपश्चिमका थप ५० स्थानीय तहहरूले कार्यक्रम सञ्चालनका लागि लागत साझेदारी गर्ने प्रतिबद्धता जनाएका छन् । सामी कार्यक्रमअन्तर्गत सूचना तथा परामर्श सेवा, कानुनी परामर्श र सहजीकरण, सीप विकास तालिम, मनोसामाजिक परामर्श सेवा तथा वित्तीय साक्षरताजस्ता सेवा प्रदान गरिँदै आएको छ । कार्यक्रममा सुदूरपश्चिम प्रदेशका सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काले वैदेशिक रोजगारीमा जाने नागरिकको तथ्यांक संकलन र विश्लेषण जरुरी रहेको भन्दै आगामी बजेटमा कार्यक्रम विस्तारका लागि पहल गर्ने प्रतिबद्धता जनाइन् ।
अन्तरक्रियामा डडेलधुराका पालिका प्रमुख, उपप्रमुखहरू लगायतको उपस्थिति थियो ।कान्तिपुरबाट