दार्चुला: जिल्ला अस्पताल दार्चुलामा रेबिजविरुद्धको ९एआरभी० खोप अभाव हुँदा बिरामी मर्कामा परेका छन् । कुकुर, बिरालो, मुसा लगायतका जनावरले टोकेलगत्तै लगाइने रेबिज रोगविरुद्धको खोप अभाव भएको जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी डम्बरदत्त भट्टले जानकारी दिए ।
सरकारले निःशुल्क उपलब्ध गराउँदै आइरहेको खोप अभाव हुँदा बिरामी रित्तो हात घर फर्कन बाध्य भएका छन् । खोपको अभाव भएपछि सोमबार दुई जना र आज एक जना बिरामी फर्किएको उनले बताए । जिल्ला अस्पताल दार्चुलाले सोमबार एक सूचना जारी गरी रेबिज रोगविरुद्ध लगाइने खोपको अभाव भएको जनाएको छ । अस्पतालले प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र धनगढी, कैलालीबाट प्राप्त नभएको तथा अर्को व्यवस्था नभएसम्मका लागि सेवाग्राहीलाई (एआरभी) खोप उपलब्ध गराउन नसकिने जनाएको छ । बिरामीले अन्यत्रबाट खरिद गरेर ल्याएमा खोप लगाइदिने जनाएको छ ।