धनगढी । पश्चिम नेपालका थारू समुदायमा जनस्वास्थ्य समस्याका रूपमा देखिएको सिकलसेल रोगको परीक्षण र उपचारमा सरकारले एक लाख रुपियाँ बराबरको उपचार खर्च दिने गरेको छ तर कैलालीका कतिपय पालिकामा निःशुल्क सुविधा हुँदाहुँदै पनि परीक्षण तथा उपचारमा सचेतना अपनाइएको छैन ।
कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडमा रहेको घोडाघोडी अस्पतालमा २०७४ सालदेखि सिकलसेल रोग परीक्षणसँगै रोगीलाई नियमित निःशुल्क औषधी सेवनको सुविधा दिन सुरु गरिएको हो । सुविधा भएर पनि सो अस्पतालमा सिकलसेल परीक्षणका लागि थारू समुदायका व्यक्ति कम आउने गरेका अस्पतालले जनाएको छ ।
सो अस्पतालका सिकलसेल स्रोत व्यक्ति सोमेन्द्र चौधरीले अस्पतालले विगतमा सिकलसेल रोग पहिचानका लागि शिविरसमेत सञ्चालन गरेको जानकारी दिए । उनले एक सय जना थारू समुदायका मानिसको रगत परीक्षण गर्दा १० जनामा सिकलसेल एनिमिया पोजेटिभ देखिएको उल्लेख गरे । पोजेटिभ देखिएका सबै रोगी नहुने जनाउँदै उनले रोगीले नियमित औषधी सेवन गर्नुपर्ने बतौए ।
सो अस्पतालमा टीकापुर, जोशीपुर, जानकी, भजनी, लम्कीचुहा, बर्दगोरिया, गौरीगङ्गालगायतका क्षेत्रबाट सिकलसेल परीक्षणका लागि आउने भए पनि घोडाघोडी नगरपालिकाकै सबैभन्दा कम परीक्षणमा आउने गरेको उनले बताए । जनचेतनाको कमी भनौँ कि लापर्बाही, परीक्षणको सुविधा हुँदा पनि स्थानीय नै परीक्षणमा कम आउने गर्छन् ।”
हालसम्म घोडाघोडी अस्पतालमा नियमित उपचार गराइरहेका ४१२ जनामध्ये छ जनाको मृत्यु भइसकेको छ भने १० जनालाई अन्य अस्पतालमा रिफर गरिएको छ । नेपाल सरकार विपन्न नागरिक औषधी उपचार कोष कार्यक्रम लागु भएको सो अस्पतालमा अहिले पनि सिकलसेल एनिमियाको निःशुल्क परीक्षण तथा उपचार सुविधा उपलब्ध छ ।
त्यसै गरी सेती प्रादेशिक अस्पताल धनगढीमा नौ सयभन्दा बढी सिकलसेल बिरामीले नियमित उपचार गराइरहेका छन् । अस्पतालका सामाजिक एकाइ प्रमुख गौरी जोशीले आर्थिक वर्ष २०७२र७३ देखि अस्पतालले सिकलसेलको निःशुल्क परीक्षण तथा उपचारको सुविधा उपलब्ध गराउँदै आएको जनाउँदै विभिन्न समयमा सिकलसेल परीक्षणका लागि शिविर सञ्चालनसमेत गर्ने गरेको जानकारी दिए ।
उहाँले भन्नुभयो, “सिकलसेल दुई किसिमको हुन्छ, परीक्षणमा पोजेटिभ देखिएका सबै रोगी हुँदैनन् । समस्या देखिएकामध्ये १० प्रतिशतमा एक प्रतिशत रोगी भेटिने गरेका छन् ।”
सिकलसेल वंशाणुगत रूपमा सर्ने रोग हो । विशेषज्ञका अनुसार सिकलसेलसम्बन्धी समस्या दुई किसिमका हुन्छन् । एउटा सिकलसेल बिरामी र अर्को सिकलसेलवाहक । रोगीमा हातखुट्टा र शरीरका जोर्नी दुख्ने, रगतको कमी हुने जस्ता लक्षण देखिन्छन् तर सिकलसेलवाहक भएका व्यक्तिमा खासै स्वास्थ्यसम्बन्धी समस्या देखिँदैन । डा। राजन पाण्डेले सिकलसेल वंशाणुगत रूपमा सर्ने भएकाले ‘सिकलसेल कुण्डली’ बिहेबारी अपनाउँदा नयाँ पुस्तामा सर्नबाट बचाउन सकिने बताए ।
उहाँले भन्नुभयो, “त्यसका लागि सिकलसेल परीक्षण जरुरी छ । यसो गर्दा रोगी रोगीबिचमा, रोगी र वाहकका बिचमा बिहेबारी गर्नु हुँदैन । रोगवाहक वाहकका बिचमा बिहेबारी गर्दा पनि सन्तान रोगी जन्मने सम्भावना रहन्छ ।”
रोगी र वाहकले निरोगीसँग बिहेबारी गरेमा जन्मेका सन्तानमा सिकलसेल वाहक देखिने भए पनि वाहकमा खासै स्वास्थ्य समस्या नहुने जनाइएको छ । सिकलसेल रोग उपचार गरेर पूर्ण रूपमा निको हुँदैन तर चिकित्सकको परामर्शमा आजीवन औषधी सेवनले यसलाई नियन्त्रणमा राख्न सकिने चिकित्सकको भनाइ छ । गोराखापत्र