धनगढी: विमानस्थलको पार्किङ शुल्कमा भारी बृद्वि गरिएपछि यातायात क्षेत्रका मजदुरहरु आन्दोलित बनेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरण विमानस्थल सेवा शुल्क २०७८ को नियम ७ सँग सम्बन्धित भन्दै विमानस्थलले नयाँ पार्किङ शुल्कको सूची सार्वजनिक गरेको थियो । आज गतेदेखि लागू हुने भन्दै पार्किङ शुल्क संकलन गर्ने ठेक्का पाएको कुलेमष्ट कन्स्ट्रक्सनले मोटरसाईकल, स्कुटर र रिक्साको प्रतिघण्टा २० रूपैयाँ र प्रतिदिन १२० रूपैयाँ, कार, जिप, टेम्पो, लिमोजिनको प्रतीघण्टा ४० र प्रतिदिन २४० रूपैयाँ, हल्का सवारीसाधन मिनी बस, माइक्रो बसको प्रतिघण्टा ६० र प्रतिदिन ३६० रूपैयाँ, बस र ट्रकको प्रतिघण्टा ९० र दिनको ५४० रूपैयाँ रहेको सुचि सार्वजनिक गरेको थियो ।
विगतमा विमानस्थलमा पार्किङ शुल्क बापत न्यूनतम १० रूपैयाँदेखि २० रूपैयाँसम्म संकलन गरिदै आएकोमा एक्कासि बृद्वि गरिएपछि यातायात मजदुरहरूले विरोध जनाएका हुन् । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन सुदूरपश्चिमले बृद्वि गरिएको पार्किङ शुल्क घटाउन माग गर्दै शुक्रबार कैलालीका प्रमुख जिल्ला अधिकारी मार्फत पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, सुदुरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाह, नेपाली काग्रेंसका प्रमुख सचेतक बिक्रम धामी र नेकपा एमालेका प्रमुख सचेतक चक्र मल्ललाई समेत ज्ञापनपत्र बुझाएको थियो । सो ज्ञापनपत्र पश्चात समेत कुनै माग सम्बोधन नभएपछि आज बिहानैदेखी बिमानस्थल गेट बाहिर सवारी साधन रोकेर मजदुरहरुले बिरोध जनाएका हुन् । पहिलो उडानका बेला यात्रु नबोकेका अटो तथा ट्याक्सी चालकहरुले दिउँसो पछि यात्रुलाई गेटसम्म छोड्ने काम गरे । आज शुल्क बृद्धीको बिरोधमा कोणसभा समेत गरिएको थियो ।
संगठनका प्रदेश अध्यक्ष ललित चन्दले विमानस्थलले निर्धारण गरेको शुल्कले यातायात मजदुरको ढाड सेक्ने भएकाले विगतकै शुल्क निर्धारण गर्न माग गरिएको बताए । बिगतमा दिनभरी ट्याक्सी पार्किङ गर्दापनि १० रुपयाँ लिइन्थ्यो तर भदौ १ गतेदेखी एक घण्टाको ४० रुपयाँ र दिनभरीको २ सय ५० रुपयाँ तोकिनुमा प्रस्ट मिलेमतो देखिएको उनले बताए । यातायात मजदुरको रोजीरोटी गुमाउने षडयन्त्र भइरहेको भन्दै उनले यसको सशक्त प्रतिवादमा उत्रिने चेतावनी दिए ।


