धनगढीः कैलालीको अत्तरियामा प्रहरीले उद्यमी युवामाथि दुर्व्यवहार गरेको छ। इलाका प्रहरी कार्यालय मालाखेतीबाट मंगलबार राति ड्युटीमा खटिएको प्रहरी टोलीले एक जुस सेन्टरमा पसल बन्द गराउने नाममा युवामाथि दुर्व्यवहार गरेको हो। इलाका प्रहरी कार्यालय मालाखेतीबाट प्रहरी सहायक निरीक्षक (असई) दिपेन्द्र बिष्ट नेतृत्वको प्रहरी टोलीले उद्यमी युवामाथि दुर्व्यवहार गरेको पीडितको गुनासो छ।
अत्तरियामा रहेको थ्रिडिभिएल क्रियशन बहुउद्देश्यीय सहकारीले अत्तरियाकै लोटस गल्लीमा थ्रिडिभिएल जुस सेन्टर सञ्चालन गरेको छ। सो जुस सेन्टर थ्रिडिभिएलकै केही युवाहरुले सञ्चालन गरिरहेका छन्। राति पसल बन्द गर्ने बेलामा भ्यानसहित आएको प्रहरी टोलीले पसल बन्द गर भनेको तर आफुहरु खाना खाइरहेकाले एकछिनमा बन्द गर्छु भन्दा तथानाम बोलेर गाडीमा जवरजस्ती हाल्न खोजेको जुस सेन्टरमा कार्यरत क्षितिज साउदले बताए।


