धनगढी: धनगढी उप-महानगरपालिका-४ बसपार्क स्थित योगेन्द्र ओझाको घरबाट चोरी भएका थप गरगहना प्रहरीले बरामद गरेको छ । उपमहानगरपालिकाकै वडा नम्बर १ बस्ने गीता भण्डारीले सञ्चालन गरेको खाजा पसल भित्र तथा सोही नजिक निजले भाडामा लिएको जमिनमा गाडिएको अवस्थामा ती गरगहना फेला परेको हो ।
धनगढी–१८ फूलबारी बस्ने ३१ वर्षीय हर्कबहादुर गिरीले नगद, सुन र चाँदीका गरगहना चोरी गरेर धनगढी उपमहानगरपालिका–१ हुलाक लाइनको एक घरको आँगनमा खाल्डो खनेर लुकाएको अवस्थामा प्रहरीले फेला पारेको हो। प्रहरीले शनिवार उक्त गरगहना फेला पारेको हो।
बुधवार शिक्षक ओझाको घरमा कोही नभएको मौका पारेर गिरीले ढोका फुटाएर चोरी गरेका थिए। चोरी मुद्दामै तीन वर्ष कैद सजाय भुक्तान गरेर १७ साउनमा कैलाली कारागारबाट छुटेका गिरीले ओझाको घरबाट नगद २५ हजार नगद, अन्दाजी ६० तोला चाँदी र १५ तोला सुनका गरगहना चोरी गरेका थिए।
प्रहरीले यसअघि नै गिरीको साथबाट चोरी गरिएको चाँदीको करुवा, दिया, कचौरा, बाला, सिक्री, पायल लगायतका अन्य विभिन्न किसिमका गरगहना, सिक्का, घडी र नगद ६ हजार १३५ बरामद गरिसकेको थियो। गिरीलाई चोरी मुद्दामा पाँच दिन म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


