धनगढी : कैलालीको गोदावरी नगरपालिका – १० को कार्यालयमा तालाबन्दी गरिएको छ । स्थानीयहरूले विद्यालय मर्जको विषयमा सर्वोच्चको आदेश पालनाको माग गर्दै वडा कार्यालयमा तालाबन्दी गरेका हुन । गोदावरी नगरपालिकाकाले २०८० फागुन ३० गते र नगर शिक्षा समितिले २०८१ जेठ ३२ गते वडा नम्बर १० को शंकर आधारभूत विद्यालयलाई घण्टेश्वर आधारभूत विद्यालयमा समायोजन गर्ने निर्णय गरिएको थियो । विद्यालय मर्ज रोक्न माग गर्दै विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष राम दत्त भण्डारीले असार २८ गते सर्वोच्चमा रिट निवेदन दिएका थिए ।
उक्त रिटमाथि सर्वोच्चले असार ३१ गते अन्तरिम आदेश दिएको थियो । सर्वोच्च अदालतले नगरको उक्त निर्णयमा शिक्षा ऐन २०२८ को दफा १५, स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८ समेतको प्रक्रिया र कार्यविधिको त्रुटि रहेको भन्दै निवेदनको टुङ्गो नलाग्दा सम्म नगरपालिका र नगर शिक्षा समितिको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । उक्त आदेशको पालना गर्दै विद्यालय सञ्चालन हुनुपर्ने माग गरेका स्थानीयहरूले माग पुरा नभएको भन्दै वडा कार्यालयमा तालाबन्दी गरेका हुन ।


