धनगढी : अनुदानमा पावर टिलर वितरण गर्ने भन्दै किसानबाट अशुल गरिएको रकम फिर्ता गरिन थालिएको छ । कैलालीको कैलारी गाउँपालिकाका किसानहरुबाट अनुदानमा पावर टिलर वितरणका लागी अग्रिम रकम उठाइएको थियो । कैलारी गाउँपालिकाका दुई सय किसानबाट कालीमाई बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले पावर टिलर वितरण गर्ने भन्दै रकम उठाएको थियो । सहकारीले एक लाख १७ हजारका दरले २ सय किसानबाट रकम उठाएको हो । सो सहकारीले दुई सय किसानबाट २ करोड ३४ लाख रकम सकंलन गरेको थियो । ५८ हजार सात सय ५० रुपयाँको अनुदानमा बिक्री गर्नुपर्ने पावर टिलरमा सहकारीले एक लाख १७ हजार रुपैयाँसम्म असुल गरेका थिए ।
सहकारी र सुरो नेपालको बिचमा २०८१ असार ११ गते किसानहरुलाई अनुदानमा पावर टिलर वितरणका लागी सम्झौता भएको थियो । सम्झौतामा ५४ जना किसानलाई पावर टिलर र ४५ जना किसानलाई पानी मोटर वितरण गर्ने भनिएको छ । किसानलाई पावर टिलरको कुल मुल्यको २५ प्रतिशत मात्र तिर्न लगाउने सम्झौता गरेको अखुवा नेपालले प्रति किसानबाट ६६ हजार २ सय ५० रुपैयाँ बढी रकम लिने योजना बनाएपछि बिरोध भएको थियो । किसानहरुबाट अनुदानका नाममा लाखौँ रकम अशुल गरिएको पाइएपछि बिभिन्न सघं सगंठन तथा राजनितिक दलहरुले समेत बिरोध गरेका थिए । बिरोध सगैं ठगि आरोप लागेपछि सहकारीका अध्यक्षहरु पक्राउ समेत परेका थिए । प्रशासनमा किसानको उजुरी नपरेपछि सहकारीका अध्यक्षहरु रिहा भएका थिए ।
किसानहरुबाट उठाइएको रकम कालीमाई सहकारीले प्रत्येक वडामै पुगेर फिर्ता गर्न लागेको जनाएको छ । कैलारी गाउँपालिका वडा नम्बर ५ का किसानहरुलाई रकम फिर्ता समेत गरिसकिएको सहकारीले जनाएको छ । बाल सशक्तीकरण नेपालले कैलारीका एक सय किसानबाट पावर टिलर र पानी मोटर वितरणका लागी रकम उठाएको थियो । सो संस्थाले एक लाखका दरले किसानबाट एक करोड बढी रकम उठाएको हो । सो संस्थाले समेत किसानको माग अनुसार रकम फिर्ता गर्न लागेको जनाएको छ ।


