धनगढी : कैलालीको कैलारी गाउँपालिका ५ सडकपुरकी विमला चौधरी गएको जेठ १७ गते पावर टिलर मेसिन दिलाउने भन्ने केही व्यक्तिहरुलाई १ लाख २५ हजार नगद बुझाइन् । जसमध्ये त्यो पैसाको उनीसँग ५८ हजार ७५० रुपैयाँको सुशिला खड्का ओझा नाम गरेको व्यक्तिको खातामा पैसा जम्मा गरेको बैंक भौचर छ । भने, बाँकी ६६ हजार २५० रुपैयाँको भने छैन । उनलाई जेठ २० गते नै पावर टिलर दिने भनिएको थियो । बर्खे धान खेतीमा सहजता होला भनेर पैसा दिएकी विमलाको हातमा हालसम्म पावर टिलर नपरेपछि उनी स्तब्ध छिन् ।
यहाँसम्मकी बैंक भौचर बाहेक ६६ हजार २५० रुपैयाँ लिन आएको ब्यक्तिले खाएको थाहा पाएपछि उनी झन छाँगाबाट खसेझै भएकी छिन् । दुखेसो सुनाउँदै विमलाले भनिन्, ‘रातदिन नभनी कमाएको पैसाले खेतीपातीमा सहजता होला भनेर पैसा दिए । तर हालसम्म पाइएन । म त धनगढीसम्मै पुगेको थिए । तर रित्तै फर्कियौ । अब खेतीपाती पनि सकियो । नत पावर टिलर, नत पैसा छ हातमा ।’
कैलारी गाउँपालिका वडा नं. ४ भित्तरियाका जनक चौधरीले पनि अगाडि थपे, ‘धेरै दुःख लागेको छ । चिनेकै व्यक्तिहरुबाट यसरी धोखा पाइएला भन्ने सोचेकै थिएन । अब त के गर्ने, के गर्ने भएको छ ।’
विमला र जनक मात्रै होइन, कैलारी गाउँपालिकामा मात्रै सुशिला खड्का ओझाको खातामा ४८ जनाले ५८ हजार ७५० रुपैयाँको दरले पैसा जम्मा गरेका हुन । ती ४८ जना किसानबाट पैसा जम्मा गराउने व्यक्तिहरुले ६६ हजार २५० रुपैयाँको दरले नगद लिएको खुलेको छ ।
उता सुशिला खड्काले आफुहरुले किसानको २५ प्रतिशत र संस्थाको ७५ प्रतिशत लागत साझेदारीमा पावर टिलर मेसिन दिदै आएको बताएकी छिन् । खड्का सुरो नेपाल विशालनगर धनगढीकी संस्थापक अध्यक्ष हुन् । उनले भनिन्, ‘कैलालीको कैलारी गाउँपालिकामा मात्रै हाम्रो १ हजार जनालाई पावर टिलर बाँड्ने योजना हो । तर बिचमा पैसा उठाएर खाने दलालबाट हामी पनि हैरान छौ ।’
किसानको घरमै गएर अनुदानको बारेमा स्पष्ट पारेको दाबी गर्दै खड्काले किसानको बाँकी रकम ६६ हजार २५० रुपैयाँ फिर्ता नभएसम्म वितरणको कार्य रोकेको बताइन् । तर असारको क्लोजिङपछि भने वितरण गर्ने सुनाइन् । हालसम्म ४८ जना किसानमध्ये ५ जनालाई पावर टिलर मेसिन दिइसकेको खड्को भनाइ छ । यहाँ ४८ किसान मात्रै होइन ५० प्रतिशत अनुदानमा पावरटिलर बाँड्ने भन्ने अन्य संघ संस्था तथा सहकारीका व्यक्तिहरुलाई संयौ किसानहरुले जेठ र असारको अवधीमा १ लाखदेखि १ लाख २५ हजार रुपैयाँसम्म बुझाएका छन् । तर हालसम्म सामान नपाएको उनीहरुले दुखेसो छ ।
पैसा उठाउने फरार
गाउँमा पावर टिलर दिलाउने भनी संलग्न व्यक्ति भने फरार रहेको बुझिएको छ । किसानबाट पैसा संकलन कार्यमा रहेका धनगढी उपमहानगरपालिका ७ बेलीका मेलाराम राना र कैलारी ५ मनिकापुरका सन्तोष चौधरी किसानको पैसा उठाएर फरार रहेको बताइएको छ ।
विमलाले भनिन्, ‘पावर टिलर जेठ २० गते पनि नदिएपछि असार ५ गते दिने भनियो । त्यसपछि असार ११ गतेसम्म पनि नदिएपछि हामी धनगढीको एक शो रुममै पुगेका थियौ । तर शो रुममै पावर टिलर नभएपछि हामीबाट पैसा लिएका मेलाराम राना र सन्तोष चौधरीलाई इलाका प्रहरी कार्यालय हसुलियामा छोपर ल्याएका थियौ ।’ सुरो नेपालका अध्यक्ष खड्कासँगको संवादपछि पीडित किसानहरु र पैसा उठाउनमा संलग्न पक्षहरु फर्किएको इलाका प्रहरी कार्यालय हसुलियाका प्रमुख लोकन्द्र चन्दले बताए । आपसी लेनदेनको विषय गाउँपालिकाको न्यायिक समितिले हेर्ने भएकोले न्यायिक समितिमा उजुरी पेश गर्न आफूले सुझाव पनि दिएको चन्दको भनाइ थियो ।
पैसा संकलनमा केही सहकारी र संघ संस्थामा पनि संलग्न
कैलालीमा ५० प्रतिशत अनुदानमा पावर टिलर बाँड्ने भन्दै केही सहकारी संस्था तथा गैरसरकारी संस्था पनि सक्रिय देखिएका छन् ।
जिल्लाको कैलारी गाउँपालिकास्थित कालीमाइ सहकारी संस्था लिमिटेड र अखुवा सहकारी संस्था लिमिटेडका साथै बाल सशक्तिकरण नेपाल नामक गैरसरकारी संस्था पनि संलग्न रहेको पाइएको छ । बाल सशक्तिकरण नेपालले १ सय थान पावर टिलर दिने भन्दै किसानबाट पैसा संलकन गरेको छ । कैलारी गाउँपालिका ६ बेनौलीका गया प्रसाद चौधरीले गएको जेठमै बाल सशक्तिकरणको लागि भन्दै रकम संकलन गरिरहेका चिनजानकै व्यक्तिलाई १ लाख रुपैया बुझाएको बताउँछन् । तर उनीसँग पैसा बुझाएको न कुनै रसिद छ, नत कुनै बैंक भौचर नै ।
असार १२ गतेभित्र पावरटिलर दिने भनिएको उनलाई अब साउन पहिलो साता दिने भन्दै आश्वास्त पारिएको छ ।
त्यस्तै, नाम उल्लेख नगर्ने शर्तमा कैलारी गाउँपालिका ६ का एक जना व्यक्तिले कालीमाइ सहकारीलाई पावर टिलरको लागि १ लाख १७ हजार बुझाएको बताएका छन् । तर सामान आउनेबारे कुनै अत्तोपत्तो नभएको दुखेसो पोखे । किसानबाट रकम संलकन गरिरहेका सहकारी तथा गैरसरकारी संस्थाहरुमध्ये कसै पनि कुन निकायको सहकार्यमा काम गरिहेकोबारे खुलाउन नचाहेको पाइएको छ । बाल सशक्तिकरण नेपालका अध्यक्ष योगेश योगीले युएन एजेन्सीजसँगको सम्झौता अनुसार काम गरिहेको दाबी गरेका छन् । तर कुन युएन एजेन्सीसँग यसम्झौता भएको र सम्झौता पत्र तथा सम्झौतापत्रमा के–के कुरा उल्लेख भएकोबारे बताउन चाहेका छैनन् ।
त्यस्तै, रातोपाटीले कालीमाइ सहकारीका अध्यक्ष अमृत चौधरीले आफूहरुले बाल सशक्तिकरण नेपालसँगको सहकार्यमा काम गरिरहेको बताएका छन् । आफू र बाल सशक्तिकरणबीच भएको सम्झौता अनुसार ५० प्रतिशत अनुदानमा पावरटिलर बाँड्ने बताए । २ सय जना किसानले पैसा बुझाएको बताउँदै उनले त्यसको आफूहरुसँग बैंक भौचर पनि सुरक्षित रहेको जानकारी दिए । तर पावर टिलर बाँड्न आफूहरुलाई ३ महिनासम्म समय लाग्ने उनको भनाइ छ ।
सिडियोले खटाए अनुसन्धान अधिकृत
किसानलाई पावरटिलर मेसिन बाँड्न रकम संकलनको सत्यतथ्य बुझ्न जिल्ला प्रशासन कार्यालय कैलालीले अनुसन्धान अधिकृत खटाएको छ ।
कैलालीका प्रमुख जिल्ला अधिकारी धमेन्द्र कुमार मिश्रले किसानसँगको सवाललाई आफुले गम्भीरतापूर्वक लिँदै सत्यतथ्य कुरा बुझ्न प्रशासकीय अधिकृत शिवराज जोशीलाई अनुसन्धानको लागि घटाएको बताएका छन् ।


