धनगढी : बार्षिक आन्तरिक आम्दानी ३० लाख मात्रै गरेको चुरे गाउँपालिकाले ईन्धन र सवारी मर्मतमा पनि अब्यवहारिक खर्च गरेको छ । आर्थिक बर्ष २०७९/८० मा कैलालीको चुरे गाउँपालिकाले ईन्धनमा मात्रै ४९ लाख ४४ हजार २ सय ८४ रुपयाँ खर्च गरेको छ । महालेखा परिक्षकको प्रतिवेदन अनुसार चुरेले सो रकम ईन्धनमा मात्रै खर्च गरेको हो । महालेकोको प्रतिवेदन अनुसार आर्थिक कार्यबिधि तथा बित्तिय उत्तरदायित्व ऐन २०७६ को दफा २४ (२) मा सरकारी रकम खर्च गर्दा साधन श्रोतको उच्चतम प्रतिफल प्राप्त हुने र प्राप्त प्रतिफलको उचित गुणस्तर समेत कायम हुने गरी मित्तब्ययी तरिकाले गर्नुपर्छ ।
चुरेले २०७९/८० मा ईन्धन अन्य प्रयोजन शिर्षकबाट रु २ लाख ७४ हजार ७ सय २० र ईन्धन कार्यालय प्रयोजन शिर्षकबाट ४६ लाख ६९ हजार ५ सय ६४ गरी जम्मा ४९ लाख ४४ हजार २ सय ८४ रुपयाँ खर्च गरेको छ । प्रयोगकर्ता प्रयोजन र भ्रमण, किलोमिटर जस्ता ब्यहोरा तथा लगबुक तयार नगरी ईन्धन खर्च गरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ । सो कारण यस्ता खर्चलाई मित्तब्ययी मनाउन महालेखाले सुझाएको छ ।
यस्तै सवारी साधन मर्मतमा ४१ लाख ४७ हजार ४ सय १७ रुपयाँ खर्च गरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ । पालिकाले मेशिनरी तथा औजार मर्मत खर्च शिर्षकबाट एम्बुलेन्स, जे सि भि, मोटरसाइकल लगायतका सवारी मर्मतमा सो खर्च गरेको छ । पालिकाले पटक, पटक एउटै सवारी साधन मर्मत गरेको बिल पेष गरेकोमा मर्मत गर्नुपर्ने कारण समेत खुलाएको छैन । प्रतिवेदन अनुसार साथै मर्मत गर्दा केही मर्मत आदेश स्वूकृत गरेपनि पुर्णरुपमा मर्मत आदेश स्वीकृत नगरी मर्मतका बिल मात्र संलग्न राखी भुक्तानी दिएको पाइयो, भने मर्मत अभिलेखपनि अद्यावधिक नगरेको उल्लेख छ ।
पालिकाले से १ झ २९० नम्बरको जिप ३ पटक मर्मत गरेको उल्लेख छ । जिप मर्मतमा मात्रै पालिकाले ५ लाख ५८ हजार ५ सय १ रुपयाँ खर्च गरेको छ । तिनै पटक जिप सिहं देवी अटो सेन्टरमै मर्मत गरेको प्रतिवेदनले देखाएको छ । यस्तै पालिकाले ३ पटक जे सि भि मर्मत गरेको उल्लेख गरेको छ । मोटरसाइकल मर्मतमा ४ लाख २ हजार ७ सय ९४ रुपयाँ खर्च देखाएको छ । महालेखाले सवारी मर्मत र ईन्धनमा अस्वभाविक खर्च देखिएकाले यसलाई सच्याउन सुझाव दिएको छ ।
गाउँपालिकाले ३३ लाख बढी खानामा खर्च गरेको छ । चुरे गाउँपालिकाले आर्थिक बर्ष २०७९/८० मा ३३ लाख १८ हजार १ सय ४१ रुपयाँ खाना तथा खाजामा खर्च गरेको छ । यस्तै गाउँपालिकाले भ्रमणका नाममा ३२ लाख बढी बजेट खर्च गरेको छ । महालेखाको प्रतिवेदनमा उल्लेख भए अनुसार गाउँपालिकाले कर्मचारी तथा पदाधिकारीलाई भ्रमण खर्च वाफत अनुगमन तथा मुल्याकंन शिर्षकबाट ११ लाख र भ्रमण खर्च शिर्षकबाट २१ लाख ९९ हजार २ सय ८० गरी जम्मा ३२ लाख ९९ हजार २ सय ८० रुपयाँ खर्च गरेको छ ।


