धनगढी : कैलालीको गोदावरी नगरपालिका प्रमुख र उप-प्रमुखले ऐन बिपरित स्वकिय सचिव राखेर खर्च गरेको पाइएको छ । महालेखापरिक्षकको प्रतिवेदन अनुसार प्रमुख बिरेन्द्र भट्ट र उप-प्रमुख सारदा रोकायाले ऐन बिपरित स्वकिृ सचिव राखेर तलव भुक्तानी गरेको पाइएको हो । प्रमुख तथा उप प्रमुखका स्वकीय सचिवलाई झण्डै ८ लाख रुपैयाँ भुक्तानी समेत गरिएको छ।
सुदूरपश्चिम प्रदेश स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधा सम्वन्धि ऐन २०७५ मा स्थानीय तहका प्रमुख तथा उपप्रमुखले स्वकीय सचिव र सल्लाहकार राख्न नपाउने व्यवस्था छ । तर गोदावरी नगरपालिकाका प्रमुख र उपप्रमुख दुबै जनाले स्वकीय सचिव राखेर ऐन विपरीत भुक्तानी समेत गरेका छन्। स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८३ ९८० मा तोकिएकोभन्दा फरक पदमा कर्मचारी पदपुर्ति गर्न नहुने उल्लेख छ। तर नगर प्रमुखको स्वकीय सचिवलाई आर्थिक वर्ष २०७९/८० को मात्र चार लाख १५ हजार ३७५ रुपैयाँ उपलब्ध गराएको छ।
त्यस्तै उपप्रमुखको स्वकीय सचिवलाई तीन लाख ५२ हजार चार सय ६० रुपैयाँ भुक्तानी गरिएको छ। नगर प्रमुख र उपप्रमुखका लागि नियुक्त गरिएका दुबै स्वकीय सचिवलाई ऐन विपरीत ७ लाख ६७ हजार ८५५ रुपैयाँ भुक्तानी गरिएको पाइएको छ। भुक्तानी गरिएको रकमलाई महालेखाले बेरुजु देखाएको छ ।


