धनगढी : हावाहुरीले ढलेको रुखले च्यापेर टीकापुर नगरपालिका–१ विशालनगरकी १५ वर्षीया प्याउरी विकको मृत्यु भएको छ । बुधवार राति ८ बजेतिर फुपूको घरबाट फर्किँदै गरेकी प्याउरीलाई आफ्नो घर नपुग्दै बाटैमा रुख ढलेर च्यापेको प्रत्यक्षदर्शी कर विकले जानकारी दिए । विक जनकल्याण आधारभूत विद्यालय लायकपुरमा कक्षा ७ मा पढ्दै हुनुहुन्थ्यो । उहाँको शव पोस्टमार्टमका लागि टीकापुर अस्पतालमा राखिएको छ । बालिकाका बुबा कर्ण विक घुम्ती व्यापारमा गएका छन् ।
टीकापुर बहुमुखी क्याम्पसको जग्गामा भूमिहीन, सुकुम्वासीका रूपमा बसेका विशाल नगर, गणेशपुर, एकता नगर लगायतका शिविरमा बर्सेनि रुख ढलेर घर च्यापिने, मान्छेहरू घाइते हुने र मान्छेको ज्यान जाने घटना भइरहेका छन् । जङ्गल क्षेत्रमा बसेका मानिसहरूले रुख सुकाउन र दाउराका लागि फेद ताछने गरेका छन् । पुराना र फेद ताछिएका रुखहरू ढल्ने र रुखको जरामा घर बनाएर बसेकाहरू च्यापिने गरेका छन् ।
सोही टोलमा जेठ २१ गते सोमबार राति आएको हावाहुरीले रुख ढलेर घर च्यापिदा ७० वर्षका दलूँ पुरीको ज्यान गएको थियो । पुरानो वन भएकाले रुख वन कार्यालयको मातहतमा छ भने जग्गा टीकापुर विकास समितिको नाममा छ यहाँ कैलालीका विभिन्न ठाउँहरू, सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी जिल्लाबाट सुकुम्वासीका रूपमा आएर बसेका पाँच हजार परिवार भन्दा धेरै बसोवासी छन् । वडाध्यक्ष मोहन विक यहाँका शिविरका मानिसको ज्यानको सुरक्षा चुनौतीपूर्ण रहेको बताउछन् ।


