धनगढी : नदिजन्य पदार्थ संकलनका लागी धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिका बिचको बिवाद साम्य हुन सकेको छैन । गोदावरी नगरपालिकाले बिगतबाटै नदिजन्य पदार्थ उठाउँदै आएको क्षेत्रबाट धनगढीले यस बर्ष उठाइदिएपछि बिवाद शुरु भएको जनाएको छ । सो क्षेत्रमा नदीजन्य पदार्थ संकलनमा दुई पालिका बीच विवाद भएपछि सहमतिका लागि पटक–पटक छलफल भएपनि निर्णय निस्किन सकेको छैन । विवाद कायमै रहदा बिहिबार गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्टले दोस्रो पटक विवादिद क्षेत्रमा पुगेर छलफल गरेका छन । यसअघि माघ २८ गते विवादिद क्षेत्रमा दुई पालिकाका जनप्रतिनिधि बीच प्राविधिक टोलीले अध्ययन गरेपछि मात्रै नदीजन्य पदार्थ उत्खनन् गर्ने सहमति भएको थियो । त्यसको करिब २० दिन पछि पुन सो ठाउँमा दुई पालिकाका जनप्रतिनिधि बीच छलफल भएको हो ।
बिहिबार जिल्ला समन्वय समिति कैलालीका कार्यवाहक अध्यक्ष खगराज भुसालको अध्यक्षतामा दुवै स्थानीय तहका राजनीतिक, प्रशासनिक तथा प्राविधिक नेतृत्वको उपस्थीतीमा छलफल भएको थियो । छलफलमा सीमा विवाद समाधानका लागि प्राविधीक टोली गठन गरिने सहमति भएको छ । प्राविधीक टोलीमा नापी विभागका कर्मचारी, दुवै पालिकाका सम्बन्धीत वडाका वडा अध्यक्ष, प्राविधिक, नगर प्रहरी लगायतको सहभागीता रहने जनाईएको छ । जिल्ला समन्वय समिति कैलालीका कार्यवाहक अध्यक्ष भुसालले सीमा क्षेत्रको विवादलाई लामो बनाउनु उचित नहुने बताए । उनले बस्ती र संरचना बचाउने कुरामा दुवै पालिका गम्भीर हुनुपर्ने बताए ।
गोदावरी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्टले सीमा विवाद समाधान गर्दा स्थानीय बासीन्दाको मागलाई पनि सम्बोधन गर्नुपर्ने बताए । धनगढी उप महानगरपालिकाका वडा नम्बर ३ का अध्यक्ष एवम् वन वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक राज बहादुर ऐरले वन, वस्ती र संरचना जोगाउने गरी अगाडि बढ्नुपर्ने बताए । श्रोत माथीको द्धन्दलाई लामो बनाउँदा कुनै घटनासमेत हुनसक्ने भन्दै वास्तविकता प्रस्तुत गरी सद्भाव कायम गरिदिन जिल्ला समन्वय समितिलाई उनले अनुरोध गरे । गोदावरी नगरपालिका वडा नम्बर ९ का अध्यक्ष रामलाल रानाले नदीजन्य पर्दाथ उत्खनन् जुन पालिकाले गरेपनि बस्तीमा असर नपर्नेगरी उत्खनन् गर्नुपर्ने बताए । उनले खुटीया नदीमा जथाभावी उत्खनन् गरेमा धनचौरीको बस्ती नै जोखिममा पर्ने भन्दै सो तर्फ पनि सम्बन्धीत निकायको ध्यानाकर्षण गराए ।
नदीजन्य पर्दाथ उठाउँदा राजश्वको २० प्रतिशत रकम सोहि ठाउँमा खर्च गर्नुपर्ने प्रावधान रहेको भएपनि दुवै पालिकाले त्यसो नगरेको भन्दै स्थानीयले गुनासो गरेका थिए । सीमा क्षेत्र दुई पालिकाका बीच विवाद हुँदा अवैध उत्खनन बढेको छ । पालिकाबीच विवाद रहेको सो क्षेत्रमा अवैध उत्खनन बढ्न थालेको हो ।


