धनगढी : कैलालीको धनगढीमा पूर्वप्रधानमन्त्री एवं वरिष्ठ साहित्यकार लोकेन्द्रबहादुर चन्दलाई नागरिक अभिनन्दन गरेको मूल समारोह समितिले खर्च विवरण सार्वजनिक गरेको छ । शनिवार पत्रकार सम्मेलन गर्दै समितिले समारोह आयोजनाका लागि विभिन्न व्यक्तिहरूबाट सङ्कलन भएको रकम र खर्चको विवरण सार्वजनिक गरेको हो ।
समारोह आयोजनाका लागि कुल ६ लाख ६ हजार ३ सय ३२ रुपैयाँ सङ्कलन भएकोमा नागरिक अभिनन्दन कार्यक्रममा ७ लाख ९ हजार १ सय ६६ रुपैयाँ खर्च भएको नागरिक अभिनन्दन गरेको मूल आयोजक समिति संयोजक माया प्रकाश भट्टले बताए । उनका अनुसार ८० हजार ३ सय रुपैयाँ सङ्कलन हुन बाँकी छ । सो रकम सङ्कलन भएमा जम्मा आम्दानी ६ लाख ८६ हजार ६ सय ३२ रुपैयाँ हुनेछ । आम्दानी र खर्चको विवरण हेर्दा २२ हजार ५ सय ३४ रुपैयाँ घाटा भएको छ । ‘हामीले खर्च जोगाउने प्रयास गरेकै हौं । यसमा सरकारी तहबाट सहयोग भएको थिएन । व्यक्तिहरूले नै सक्दो सहयोग गरेका थिए । अभिनन्दनका क्रममा हामीले उहाँको ग्रन्थ पनि सार्वजनिक गरेका छौं। अब उक्त पुस्तकलाई बचेर घाटा भएको रकम सङ्कलन गर्ने हाम्रो योजना छ । निःशुल्क वितरण गर्नुपर्ने ठाउँमा गरेर बाँकी रहेका पुस्तकलाई प्रतिपुस्तक ५ सयका दरले बिक्री गर्छौुं, समिति संयोजक भट्टले पत्रकार सम्मेलनमा भने ।
नेपाली साहित्य क्षेत्र र राजनीतिमा पुर्याएको योगदानको उच्च सम्मान गर्दै ८४ औं वसन्त पूजनको अवसरमा चन्दलाई यही फागुन ३ गते सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी कैलालीको धनगढीमा नागरिक अभिनन्दन गरिएको थियो । ४ पटक प्रधानमन्त्री भएका चन्दका हिउँको तन्ना, नेताका साथी, पाहुना घर लगायतका दर्जनभन्दा बढी साहित्यिक कृति प्रकाशन भएका छन् ।