धनगढी: नेकपा एमाले कैलालीले नवौँ जिल्ला अधिवेशनको नारा र लोगो सार्वजनिक गरेको छ । शुक्रबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै जिल्ला कमिटिले नारा र लोगो सार्वजनिक गरेको हो । एमालेले पालिका, संघ प्रदेश र जिल्ला २०८४ मा बनाउ एमालेको किल्ला अधिवेशनको नारा तय गरेको छ भने सुदूरपश्चिमका पर्यटकीय स्थल समेटेर लोगो बनाएको छ । एमाले कैलालीका इन्चार्ज समेत रहेका पोलिटब्युरो सदस्य गणेशसिंह ठगुन्नाले लोगो सार्वजनिक गरेका हुन् ।
लोगोमा कर्णाली पुल, शिबपुरीधाम, घोडाघोडी ताल लगाएतका ठाउँहरुलाई समेटिएको छ । एमालेका कार्यवाहक अध्यक्ष दुर्गाप्रसाद जोशीले अगामी ६ र ७ गते कैलालीको सुखडमा नवौँ अधिवेशन हुने बताए । जोशीले पार्टीका केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीले अधिवेशनको उद्घाटन गर्ने बताए । पार्टीको अगामी नेतृत्व चयनका लागि कैलालीमा पहिलोपटक नयाँ अभ्यासको थालनी गरिएको उनले बताए ।
सहमतिमा नेतृत्व चयन गर्न र समय छोट्याउन पदाधिकारीमा आकांक्षीहरूले ३ माघमा इच्छापत्र इन्चार्जलाई बुझाउनुपर्ने निर्णय गरेको उनी बताउँछन् । त्यसरी बुझाइएका इच्छापत्रका आधारमा ४ र ५ गते आकाक्षीकाबीचमा सहमतिको प्रयास गरिने एमालेले जनाएको छ एमाले कैलालीका इन्चार्ज ठगुन्नाले पार्टीलाई एकताबद्ध बनाउनेगरि अधिवेशन हुने लागेको बताए । नवौँ अधिवेशनले पार्टीमा रहेको अराजकता र गुटबन्दी चिर्न भूमिका खेल्ने उनको भनाइ थियो । एमालेले जिल्ला अधिवेशनका लागी अगामी २७ गते ५६० प्रतिनिधि चयन गर्ने जनाएको छ ।


