धनगढी। कैलालीको गोदावरी नगरपालिकाको अत्तरिया बजारमा रहेको एक दोहरी साँझमा कुटपिटमा परि एक जनाको ज्यान गएको छ।
गोदावरी नगरपालिकाको अत्तरिया बजारमा रहेको न्यु सत्कार दोहरी साँझमा कुटपिटमा परि एक जनाको ज्यान गएको कैलालीका प्रवक्ता कुलदिप चन्दले बताए। २५ गते बुधवार राति कुटपिटमा परेका कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर५, गुलरियाका ४२ वर्षीय श्याम देउवाको मृत्यु भएको हो। २५ गते राति दोहरी साँझमा देउवा कुटपिटमा परेका थिए।
राती साथीहरु खानपान गरेर दोहरी साँझबाट घर निस्कीएका थिए। देउवालाई २६ गते बिहान घाईते अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। घाईते अवस्थामा भेटिएका देउवालाई परिवारका सदस्यले राति नै उपचारका लागि धनगढी स्थित निसर्ग हस्पिटलमा ल्याएका थिए। गम्भीर चोट लागेका उनको उपचारकै क्रममा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कुलदिप चन्दले बताए।
देउवाको अस्पतालमा मृत्यु भएपछि मात्रै परिवारले घटनाबारे प्रहरीलाई बताएको प्रवक्ता चन्दले बताए। अहिले मृतकको शव धनगढी स्थीत सेती प्रादेशिक अस्पतालमा राखिएको छ। देउवाको ज्यान गएपछि उनको परिवारले इलाका प्रहरी कार्यालय मालाखेतीमा जाहेरी दिएको थियो। कैलाली प्रहरी प्रवक्ता चन्दले घटनाको अनुसन्धान भइरहेको बताएका छन्। उनले अनुसन्धानका लागि शनिवारसम्म ६ जनालाई नियन्त्रणमा लिएको बताएका छन्। पक्राउ पर्नेमा २७ बर्षिय विनोद शाह, २४ बर्षिय प्रकाश ओली, २५ बर्षिय उमेश बडैला, २८ बर्षिय यज्ञ बिक, ३८ बर्षिय राम बहादुर ऐर, २८ बर्षिय टेक बहादुर नायक रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।


