काठमाडौं। नेकपा एकीकृत समाजवादीका नेता भानुभक्त जोशीले भूकम्प पीडितका लागि तत्काल राहतको व्यवस्था गर्नुपर्ने बताएका छन्।
बिहीबार संसद बैठकको विशेष समयमा बोल्दै बझाङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य जोशीले १६ भदौमा गएको भूकम्पले बझाङका सबै पालिकामा क्षति पुगेको भन्दै पीडितलाई तत्काल राहत र घाइतेलाई उपचारको व्यवस्था गर्न माग गरे।यस्तै बझाङ्गसहित सुदुरका अन्य जिल्लाका भूकम्प पीडितका लागि सरकारले तत्काल राहतको व्यवस्था गर्नुपर्ने उनको जोड छ।
प्रधानमन्त्री, उपप्रधानमन्त्री र मन्त्रीहरू त्यसतर्फ जान लागेकामा धन्यवाद दिँदै जोशीले भ्रमण गर्ने भन्दा विशेष कार्यक्रमको घोषणा गर्नुपर्ने माग गरे।‘यसअघि ०७८ सालमा गएको बेमौसमी वर्षाका कारण ठूलो क्षति भएको थियो । एकै घरका ७ जनाले ज्यान गुमाए भने धनजनको क्षति भयो । त्यतिबेलाका प्रधानमन्त्री, गृहमन्त्री र मुख्यमन्त्रीले भ्रमण गरेर आश्वासन दिए पनि तीन वर्षसम्म पीडित राहत पाउन सकेका छैनन्’, सांसद जोशीले भने, ‘नेताहरू आउँछन्, हेलिकप्टरमा घुम्छन् र आश्वासनका ठूला भारी बोकाउँछन् ।
तर जनताले केही पाउँदैनन् । यस्तो पीडाको अवस्थामा म सरकारलाई कमसेकम त्यो जिल्लाको समग्र अवस्था हेरेर अहिले विशेष कार्यक्रम घोषणा गर्न माग गर्दछु ।’उनले अहिले बझाङलगायत आसपासका जिल्लामा दर्दनाक अवस्था रहेको भन्दै के कसरी हुन्छ सरकारलाई राहत र उद्दारका लागि अनुरोध गरे ।‘सरकारी कार्यालय, स्वास्थ्य चौकी र विद्यालय भवनसँग निजी घर बस्न लायक छैनन्’, उनले भने, ‘सामान्य राहतले मात्रै नपुग्ने हुँदा विशेष पूनर्निमाणको योजना लिएर बझाङ र त्यस वरपरका जिल्लालाई भूकम्प प्रभावित वा संकटग्रस्त जिल्लाका रूपमा घोषणा गरेर सरकारले विशेष कार्यक्रम ल्याउन अनुरोध गर्न चाहन्छु।
’जोशीका अनुसार १६ भदौको भूकम्पका कारण बझाङसँगै बाजुरा, अछाम, डोटी र बैतडीमा पनि क्षति भएको छ। बझाङमा सुख्खा पहिरोमा परी गुनदेवी जोशीको ज्यान गएको र दुई जना घाइतेको काठमाडौँमा उपचार भइरहेको पनि सांसद जोशीले बताए ।साथै, भूकम्पले विद्यालय भवन चर्किएका कारण पठनपाठन बन्द भएको र २१ वटा सरकारी कार्यालय बन्द रहेको तथा व्यक्तिका निजी घरमा पनि बस्न मिल्ने अवस्था नरहेको जोशीले संसदलाई जानकारी गराए ।

