कैलाली। आसन्न प्रदेश तथा प्रतिनिधी सभाको निर्वाचन आइतबार (भोली) अर्थात् मंसिर ४ गते हुँदैछ। निर्वाचनका लागी मतदान केन्द्र निर्माण देखी सुरक्षा योजना समेत बनाइएको निर्वाचन आयोगले जनाएको छ। यता सुदूरपश्चिम प्रदेशमा पनी निर्वाचनको तयारी पुरा भएको प्रदेश निर्वाचन कार्यालय सुदुरपश्चिम प्रदेशले जनाएको छ।
प्रदेशका ३२ र १६ प्रतिनिधिसभा सदस्य चयनका लागि आम निर्वाचनको तयारी पुरा भएको निर्वाचन आयोग सुदूरपश्चिम प्रदेशका प्रमुख प्रेमराज भट्टले जानकारी दिए। आवश्यक कर्मचारीसहित सबै प्रबन्ध मिलाइसकिएको बताउँदै सबै तयारी पुरा भइसकेको उनले बताए। मंसिर ४ गते मतदान भएको ५ दिनभित्रै प्रत्यक्षतर्फको सम्पुर्ण नतिजा आइसक्ने जानकारी दिए । यसका लागी तयारी थालिएको र ५ दिनभित्रै पहिलो हुने प्रत्यक्षतर्फको नतिजा सार्वजनिक भइसक्ने र अरु बाँकी काम एक साताभित्रै अरु सम्पन्न हुने बताए। प्रदेश तथा प्रतिनिधी सभाको निर्वाचनमा सुदूरपश्चिमबाट ७०/७२ प्रतिशत मत खस्ने जानकारी दिए । मतदाता शिक्षासँगै नमुना मतदानसमेत सफल भएकोले मत बदर हुने सम्भावना न्युन रहेको उनले जानकारी दिए।
सुदूरपश्चिम प्रदेशमा १६ लाख ५८ हजार चार मतदाता छन्। सबैभन्दा बढी कैलालीमा ५ लाख ३५ हजार ५१४ र कञ्चनपुरमा तीन लाख दुई हजार पाँच सय नौ तथा अछाममा एक लाख ५८ हजार ६५७ मतदाता छन्। सबैभन्दा कम बाजुरामा ८३ हजार ५६७ मतदाता छन्। बझाङमा एक लाख २२ हजार ३७६, दार्चुलामा ८९ हजार १५४, डडेलधुरामा ९१ हजार २०१, बैतडीमा एक लाख ५० हजार १२९ र डोटीमा एक लाख २४ हजार ८७० मतदाता छन्। प्रदेशभर एक हजार १६१ मतदानस्थल र दुई हजार १४६ मतदान केन्द्र तोकिएको छ। प्रदेशका नौ वटै जिल्लाका मतदान स्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र म्यादी प्रहरीसहित सुरक्षा टोली खटिएका छन् । निर्वाचन शान्तिपूर्वक सम्पन्न गर्नका लागि सुदूरपश्चिम प्रदेशमा करिब २५ हजार सुरक्षाकर्मी खटिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी भोलाबहादुर रावलले जानकारी दिए। उनका अनुसार ६ हजार ४१० जना जनपद प्रहरी, ११ हजार ५ सय ५९ म्यादी प्रहरी परिचालन भएका छन्।


