कञ्चनपुर। निर्वाचन आयोगले स्थानीय तह सदस्य निर्वाचन, २०७९ को खर्च विवरण नबुझाएका उम्मेदवारको नामावली सार्वजनिक गरेको छ। आयोगले नामावलीसहित जरिवाना रकमसमेत उल्लेख गरेर सोमबार नाम सार्वजनिक गरेको हो। आयोगले कञ्चनपुरको पुनर्वास नगरपालिकाको नगर प्रमुख तथा उपप्रमुख बनेका ११ जनालाई जनही साढे चार लाख जरिवाना तोकेको छ।
निर्वाचन खर्च विवरण बुझाउन सूचना जारी गर्दा पनि अटेर गरेपछि जरिवाना गरिएको आयोगले जनाएको छ। जसमध्ये पुनर्वास नगरपलिकाका नगर प्रमुख तोय प्रसाद शर्मा र उप-प्रमुख भुलिया रानालाई जनही साढे चार लाख रुपैयाँ जरिवाना तोकेको निर्वाचन आयोगले सार्वजनिक गरेको खर्च विवरणमा उल्लेख गरेको छ । उनीहरूले अब जनही साढे चार लाख रुपैयाँ ६ महिनाभित्र तिरिसक्नु पर्ने हुन्छ। ६ महिना जरिवाना नबुझाए पद नै जाने कानुनी व्यवस्था छ ।