बझाङ। बझाङको साइपाल गाउँपालिकामा भिरबाट लडेर घाइते भएका २ जनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । घाइते हुनेमा साइपाल गाउँपालिका-४ धुली घर भएका ३६ वर्षीय शिबु रोकाया रहेका छन् । घाइते रोकाया यार्सा संकलन गरी घर फर्कने क्रममा चाल्नावनको भिरबाट करिब ७० मिटर तल खसेर घाइते भएको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी ज्ञान बहादुर विष्टले बताए ।
घाइते रोकायाको स्थानीयले उद्धार गरी धुली आधारभूत स्वास्थ्य चौकीमा ल्याएका थिए । उनको टाउको, निधार, घाँटी र अनुहारमा गहिरो चोट भएकाले थप उपचारको लागि हेलिकोप्टरमार्फत उद्धार गरी नेपालगन्ज पठाएको साइपाल गाउँपालिका अध्यक्ष मानबहादुर बोहराले बताए ।स्थानियका अनुसार घाइते रोकाया केही महिनादेखि साइपाल गाउँपालिकामा पर्ने यार्सा संकलन क्षेत्र चाल्ना वनमा यार्सागुम्वा संकलनका लागि गएका थिए ।
शनिबार साँझ घर फर्कने क्रममा भिरबाट चिप्लिएर लड्दा उनी घाइते भएका थिए ।यस्तै, साइपाल गाउँपालिका–३ काँडाका ३३ वर्षीय पूर्णबहादुर बोहरा पनि ढोगदिना भन्ने जंगलमा दाउरा काट्ने क्रममा लडेर घाइते भएका थिए । बोहरालाई पनि थप उपचारका लागि हेलिकोप्टरमार्फत नेपालगन्ज पठाइएको साइपाल गाउँपलिकाका अध्यक्ष बोहराले बताए ।

