धनगढी। सुदूरपश्चिमका ८ जिल्लामा नेपाली कांग्रेसको गाउँपालिका र नगरपालिकास्तरीय अधिवेशन सम्पन्न भएको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह प्रदेश रहेको सुदूरपश्चिममा ९ मध्ये ८ जिल्लामा कांग्रेसको गाउँ र नगरको अधिवेशन सम्पन्न भएको हो।
कैलालीबाहेक प्रदेशका ८ जिल्लाका ७५ स्थानीय तहमा कांग्रेसको गाउँ तथा नगरपालिका अधिवेशन सकिएको छ। तर क्रियाशील सदस्यता विवादका कारण कैलालीमा अधिवेशन हुन ढिलाई भएको हो । कैलालीबाहेक ८ जिल्लाका ७५ पालिकामध्ये ५३ वटामा संस्थापन अर्थात देउवा पक्षका उम्मेदवारहरू सभापतिमा निर्वाचित भएका छन्।
२२ पालिकामा भने संस्थापन इतर समूहका वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलानिकट उम्मेदवार विजयी भएका छन्। प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति देउवाको गृहजिल्ला डडेल्धुरामा समेत वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बहिष्कारबीच पालिकास्तरको अधिवेशन सम्पन्न भएको छ। धेरै ठाउँमा सर्वसम्मत नेतृत्व चयन गरिएको छ भने निर्वाचन भएका अधिकांश स्थानमा देउवा पक्ष नै बलियो देखिएको छ। तर, बाजुरामा भने सिटौला–पौडेल पक्ष मिल्दा देउवालाई क्षति पुगेको छ।
८८ वटा स्थानीय तह रहेको सुदूरपश्चिममा कैलालीका १३ पालिकामा भने अधिवेशन हुन बाँकी छ। कांग्रेस कैलालीका क्रियाशील सदस्यहरुको नामावली प्रकाशित भएको छ। क्रियाशील सदस्यहरुको नामावली प्रकाशित भईसकेपछि अधिवेशन हुन लागेको जनाइएको छ। केन्द्रीय निर्वाचन समितिले शनिबार थप पाँच जिल्लाका क्रियाशील सदस्यहरुको नामावली वेबसाइटमा प्रकाशित गरेको काङ्ग्रेस कैलालीका उपसभापति प्रकाश बमले बताए। आज निर्वाचन अधिकृत आउने जानकरी आएको बताउदै उनले त्यसपछि वडा अधिवेशनबारे टुंगो लाग्ने बताए। सदस्यता विवादका कारण कैलालीमा अधिवेशन हुन सकेको थिएन।कहाँ को सभापती भए हेर्नुहोस तालिका… 


