धनगढी: दसैँतिहारको चहलपहल सकिएसँगै सुदूरपश्चिमका पहाडी जिल्लामा धार्मिक तथा सांस्कृतिक जात्रा र मेलाको रौनक बढेको छ । कात्तिक शुक्लपक्षदेखि मंसिर महिनासम्म विभिन्न शक्तिपीठ, देवीदेवता र धार्मिक धाममा लाग्ने परम्परागत जात्राले गाउँबस्तीमा उत्साह थपेको छ । कतै देवी भगवतीको दर्शनका लागि हजारौँ श्रद्धालु ओइरिएका छन् त कतै ढालतरबारसहितको चौलो, परम्परागत बाजागाजा र देउरो नाचले मौलिक संस्कृतिको झल्को दिइरहेको छ ।
बैतडीको त्रिपुरासुन्दरी भगवती मन्दिरमा लागेको जात्रा सम्पन्न भइसकेको छ भने डडेल्धुराको कैलपाल जाँत पनि सम्पन्न भइसकेको छ । अब उग्रतारा भगवती, बडाल, मेलौली भगवती, जगन्नाथ धाम र डोटीको बडीकेदार धामलगायतमा लाग्ने मेलाले धार्मिक तथा सांस्कृतिक चहलपहल बढाएको छ । बैतडीको दशरथचन्द नगरपालिका–८ स्थित प्रसिद्ध त्रिपुरासुन्दरी भगवती मन्दिरमा यसवर्षको जात्रा सम्पन्न भएको छ । प्रत्येकवर्ष कात्तिक शुक्ल अष्टमी र नवमीका दिन लाग्ने जात्रामा नेपाल र भारतका हजारौँ श्रद्धालुले भगवतीको दर्शन गरेका छन् । त्रिपुरासुन्दरी मन्दिर क्षेत्र विकास समितिका सचिव गणेशसिंह थापाका अनुसार यस वर्ष विगतका तुलनामा दर्शनार्थीको सहभागिता अझ बढी थियो ।
यता डडेल्धुराको गन्यापधुरा गाउँपालिका–२ स्थित बडालमा मंसिर ४ गते प्रसिद्ध बडाल जाँत आयोजना हुँदैछ । आज राति रतेडी र भोलि दिउँसो मुख्य मेला अर्थात् दिउँसेडी सञ्चालन हुनेछ । गन्यापधुरा गाउँपालिकाका अध्यक्ष मनोज देउवाका अनुसार लाटागन्याप देवताको भक्तिस्वरूप मनाइने यो जाँत सुदूरपश्चिमको मौलिक चौलो संस्कृतिका लागि विशेष परिचित छ । बडाल जाँतको मुख्य आकर्षण ढालतरबारसहित खेलिने चौलो हो । दाइन, दमाहा, रुइसिंग र भोक्करजस्ता परम्परागत बाजाको तालमा ढाल, तरबार, भाला, गुर्जा र खुकुरी प्रदर्शन गर्दै चौलो खेल्ने गरिन्छ । शुक्ल नवमीको राति देवताको पूजा गरी जाग्राम बस्ने र भोलिपल्ट बिहान लाटागन्याप देवताको दर्शन गरे मनोकामना पूरा हुने धार्मिक विश्वास छ ।
त्यस्तै, गन्यापधुरा गाउँपालिका–४ स्थित कैलपाल माण्डौँमा कैलपाल देवताको जाँत पनि सम्पन्न भइसकेको छ । कात्तिक २९ गते राति रतेडी र ३० गते दिउँसो दिउँसोडीका रूपमा सञ्चालन भएको जाँतमा डडेल्धुरासहित कैलाली, कञ्चनपुर र भारतको सिङहाई क्षेत्रबाट श्रद्धालु सहभागी भएका थिए । सयौँ वर्ष पुरानो धार्मिक तथा सांस्कृतिक इतिहास बोकेको कैलपाल जाँतमा परम्परागत विधि, देउरो नाच, चौलो खेल र विभिन्न देवताका भण्डारबाट आउने धार्मिक झाँकी मुख्य आकर्षण बनेका थिए ।
डडेल्धुराकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भने मंसिर ८ गते देहीजाँत लाग्नेछ । अमरगढी नगरपालिका–८ स्थित मन्दिरमा ७ गते राति रतेडी र ८ गते दिउँसो मुख्य मेला अर्थात् दिउँसेडी आयोजना हुने उग्रतारा क्षेत्र विकास समितिका अध्यक्ष तेजबहादुर साँकीले जानकारी दिए । उनका अनुसार जात्रा परम्परागत धार्मिक विधि र मान्यताअनुसार सञ्चालन गरिनेछ ।
जात्राका लागि अमरगढीका जिलोडा, खनमडा, दुमडा र छचोडालगायत चार गाउँबाट ध्वजा, शङ्ख, घण्टा, बिगुल, भोकर तथा चाँदी, पित्तल र सुनका आभूषणसहितका कलश र डोली बाजागाजासहित मन्दिरमा ल्याउने परम्परा छ । दमाहा र नरसिंहाजस्ता परम्परागत बाजाको धुनमा देउरो मन्दिर पुर्याइन्छ । बिहान पूजाआजापछि धामीले काँप्दै भाकाबैजाली दिने परम्परा छ । भक्तजनले आफूले गरेको भाकलअनुसार पूजासामग्री, सुन तथा चाँदी चढाउने गर्छन् ।
मध्याह्न १२ बजे मन्दिरबाट गाँज निकालेर फाँटमा नचाउँदै चार ठाउँमा ढोग्ने चलन छ । साँझ पूजा गरेपछि चारवटै गाउँबाट ल्याइएका डोलीसहितका देउरा सम्बन्धित गाउँमा फर्काइन्छन् । त्यसपछि भ्रमणमा राख्ने धार्मिक विधिसँगै जात्रा सम्पन्न हुन्छ । डडेल्धुरा सदरमुकाम बागबजारबाट करिब चार किलोमिटर दूरीमा रहेको उग्रतारा मन्दिरमा हरेक वर्ष हजारौँ श्रद्धालु पुग्ने गरेका छन् । करिब दुई हजार पाँच सय वर्षअघि लटाउलीमा स्थानीयले हलो जोत्ने क्रममा शिलामा हलोको फाली अड्किएर रगत बगेपछि देवी उत्पत्ति भएको किंवदन्ती छ । त्यसयता उग्रतारा भगवतीलाई महागौरी दुर्गा र कालीको स्वरूपका रूपमा पूजाआजा गरिँदै आएको धार्मिक मान्यता छ ।
बैतडीकै मेलौली भगवती मन्दिरमा पनि मंसिर ७ र ८ गते परम्परागत देहीजाँत आयोजना हुँदैछ । जात्राका अवसरमा राँगाको बलि दिने चलन छ । मेलौली भगवतीको दर्शनका लागि सुदूरपश्चिमका विभिन्न जिल्लासँगै भारतका सीमावर्ती क्षेत्रबाट समेत श्रद्धालु आउने गरेका छन् । मेलौली भगवती मन्दिर विकास समितिका अध्यक्ष जगदिशसिंह नायकका अनुसार जात्राले धार्मिक आस्थासँगै स्थानीय व्यापार र पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्याउँदै आएको छ ।
यसैगरी, डडेल्धुराको अजयमेरु गाउँपालिकास्थित प्रसिद्ध जगन्नाथ धाममा मंसिर १० गते जगन्नाथ मेला अर्थात् खोलेइ जात आयोजना हुँदैछ । ९ गते राति रतेडी र १० गते दिउँसो दिउँसेडी मेला लाग्नेछ । मेलाका अवसरमा गुनपाल, चौडी, चिपुर र मड गाउँका भक्तजनले देउरो बोकेर जगन्नाथ मन्दिर पुग्ने परम्परा छ। विभिन्न गाउँबाट आउने देउरो र धार्मिक विधि यस जात्राका प्रमुख आकर्षण हुन् ।
उता डोटीको बडिकेदारधाममा मंसिर ५ र ६ गते धार्मिक मेला आयोजना हुँदैछ । बडिकेदार धाम विकास समितिका अध्यक्ष उपेन्द्र बमका अनुसार ६ गते विशेष केदार पूजनको कार्यक्रम राखिएको छ । डोटीको बडिकेदार र बोगटान फुड्सिल गाउँपालिकाको सीमा क्षेत्रमा अवस्थित बडिकेदारधाममा वैकुण्ठ चतुर्दशीका दिन विशेष पूजाआजा गर्ने परम्परा छ । त्यहाँ दर्शन गरे मनोकामना पूरा हुने धार्मिक विश्वास छ ।
कैलालीको सहजपुरबाट बीपीनगर, खँड्यौली बजार हुँदै अत्तरकाँडासम्म सडक सुविधा पुगेको छ । अत्तरकाँडाबाट करिब सवा एक घण्टा पैदल यात्रा गरेपछि धाम पुग्न सकिन्छ । बडिकेदार मेलाका लागि सुदूरपश्चिमको राजधानी धनगढीबाट निशुल्क बस सुविधा पनि सञ्चालन गरिएको छ । धनगढी उपमहानगरपालिकाले चारवटा निुशल्क बस सञ्चालन गरेको हो ।


