कैलाली: कोही कर्णाली पुलमा उभिएर फोटो खिचिरहेका छन्, कोही टिकटक तथा भिडियो बनाइरहेका छन् भने कोही कर्णाली नदीको मनमोहक दृश्य नियालिरहेका छन् । तिहार सकिएसँगै कैलालीको चिसापानीस्थित कर्णाली पुलमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशलाई जोड्ने कर्णाली नदीमाथिको पुल पछिल्लो समय पर्यटकीय गन्तव्यका रूपमा समेत स्थापित हुँदै गएको छ । विशेष गरी चाडपर्व, सार्वजनिक बिदा तथा शैक्षिक भ्रमणका क्रममा पुल अवलोकन गर्न आउने आन्तरिक पर्यटकको सङ्ख्या बढिरहेको छ । पुलको आकर्षक संरचना, कर्णाली नदीको फराकिलो बहाब र आसपासको प्राकृतिक सौन्दर्यले पर्यटकलाई आकर्षित गर्ने गरेको छ ।
इलाका प्रहरी कार्यालय चिसापानीकी प्रहरी निरीक्षक मीरा खड्काका अनुसार तिहार सकिएपछि चिसापानी क्षेत्रमा पर्यटकको आवागमन उल्लेख्य रूपमा बढेको छ । परिवार, साथीभाइ तथा विभिन्न समूहमा घुमफिरका लागि आउने पर्यटकको सङ्ख्या बढेसँगै सुरक्षा व्यवस्थालाई पनि प्राथमिकता दिइएको उहाँले बताउनुभयो ।
“तिहार सकिएलगत्तै चिसापानी क्षेत्रमा पर्यटकको चहलपहल बढेको छ । पर्यटकको आवागमनलाई सुरक्षित र व्यवस्थित बनाउन प्रहरी परिचालन गरी नियमित निगरानी गरिरहेका छौँ,” खड्काले भन्नुभयो । पर्यटकको भिड बढेसँगै प्रहरीले पुलमा फोटो तथा भिडियो खिच्दा सवारी आवागमनमा अवरोध नगर्न, नदी किनारमा सावधानी अपनाउन र सुरक्षाकर्मीको निर्देशन पालना गर्न आग्रह गर्दै आएको छ । सवारी व्यवस्थापन र सम्भावित सुरक्षा चुनौतीलाई ध्यानमा राखेर पुल तथा आसपासका क्षेत्रमा निगरानी बढाइएको प्रहरीले जनाएको छ । कर्णाली पुलमा बढ्दो पर्यटकको आगमनले चिसापानीको स्थानीय व्यापार व्यवसायलाई समेत चलायमान बनाएको छ । पर्यटकको चहलपहल बढेसँगै होटेल, रेस्टुरेन्ट तथा अन्य व्यवसाय विस्तार हुँदै गएका छन् । कर्णालीका ताजा माछाका परिकार, स्थानीय खान्की र सुकुटीसमेत पर्यटकका लागि आकर्षण बन्न थालेका छन् ।
यसबाट स्थानीय व्यवसायी तथा युवाले रोजगारी र आम्दानीको अवसर पाउन थालेका छन् । अहिले भिडभाडको समयमा दैनिक १५ हजार रुपियाँ माछा डुलाएर नै बेच्ने गरेको माछा बेच्नेहरू बताउँछन् करिब पाँच सय मिटर लामो र १० मिटर चौडा कर्णाली पुल नेपालको महत्वपूर्ण पुलमध्ये एक मानिन्छ । जापानको कावासाकी हेभी इन्डस्ट्रिजले विश्व बैङ्कको सहयोगमा निर्माण गरेको पुल सन् १९९३ मा सम्पन्न भएको थियो । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले २०५० मङ्सिर २८ गते पुलको उद्घाटन गर्नुभएको थियो । पुल निर्माणपछि चिसापानी यातायातको महìवपूर्ण केन्द्रका रूपमा स्थापित भए पनि पछिल्लो समय यसको पर्यटकीय पहिचानसमेत विस्तार हुँदै गएको छ ।


