धनगढी । पहाडी जिल्ला अछाममा लागूऔषधसम्बन्धी अपराधका घटना देखिन थालेका छन्। जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कले पछिल्ला तीन आर्थिक वर्षमा लागूऔषधसम्बन्धी मुद्दा र पक्राउ पर्ने व्यक्तिको सङ्ख्या बढेको देखाएको छ। अन्य उमेर समूहको तुलनामा जिल्लामा युवाहरू लागूऔषधको कारोबार तथा सेवनमा बढी संलग्न हुने गरेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय अछामका अनुसार आर्थिक वर्ष २०८१/८२ मा लागूऔषधसम्बन्धी नौवटा मुद्दा दर्ता भएका थिए। ती घटनामा १२ जना पक्राउ परेका थिए। प्रहरीले उक्त अवधिमा ६७० मिलिग्राम खैरो हेरोइन, २७५ ग्राम ५४० मिलिग्राम चरेस र २४ ग्राम ८०० मिलिग्राम गाँजा बरामद गरेको थियो।
त्यस्तै, आर्थिक वर्ष २०८२/८३ मा लागूऔषधसम्बन्धी मुद्दाको सङ्ख्या बढेर १० पुगेको छ। उक्त वर्ष १३ जना पक्राउ परेका थिए। प्रहरीले २०९ मिलिग्राम खैरो हेरोइन, ९९ ग्राम ८२ मिलिग्राम चरेस, ६६ क्याप्सुल निमाडोल र २० क्याप्सुल ट्रामाडोल बरामद गरेको थियो।
चालु आर्थिक वर्ष २०८३/८४ मा पनि लागूऔषधसम्बन्धी तीनवटा मुद्दा दर्ता भइसकेका छन्। ती घटनामा तीन जना पक्राउ परेका छन्। प्रहरीले यस अवधिमा खैरो हेरोइन र चरेससमेत बरामद गरेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय अछामका डीएसपी पविन्द्र बमका अनुसार पछिल्लो समय जिल्लामा लागूऔषधसम्बन्धी गतिविधि केही बढेको देखिएको छ। तराईका जिल्लामा जस्तो ठूलो परिमाणमा लागूऔषध भित्रिने अवस्था अछाममा नरहेको उनको भनाइ छ। यहाँ सानो परिमाणमा लागूऔषध ल्याउने र एकअर्काको देखासिकीमा सेवन गर्ने प्रवृत्ति देखिएको उनले बताए।
‘पक्राउ परेका अधिकांश युवा उमेर समूहका छन्। कतिपय साथीभाइको सङ्गत र देखासिकीमा लागेर यसमा संलग्न भएका छन् भने कतिपय मानसिक तनाव तथा समस्याका कारण पनि लागूऔषधको प्रयोगमा लागेको देखिन्छ,’ डीएसपी बमले भने। उनले पहाडी जिल्लामा लागूऔषधको समस्या गम्भीर रूपमा लिनुपर्ने अवस्था रहेको बताए। यसको प्रयोगले युवाको भविष्यमा असर पार्ने भएकाले प्रहरीले नियन्त्रणसँगै जनचेतनामूलक कार्यक्रमलाई पनि प्राथमिकता दिएको छ।
हाल जिल्लामा प्रहरीले स्थानीय तह, विभिन्न सङ्घसंस्था तथा विद्यालयसँग समन्वय गरेर लागूऔषधविरुद्ध सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ। युवा पुस्तालाई यसको असर र कानुनी परिणामबारे जानकारी गराउँदै लागूऔषधको प्रयोग तथा कारोबार रोक्ने प्रयास भइरहेको डीएसपी बमले बताए।
अछाममा ठूलो परिमाणमा लागूऔषध बरामद नभए पनि सानो परिमाणमा यसको ओसारपसार र प्रयोग देखिएकाले समयमै सचेत हुनुपर्ने प्रहरीले जनाएको छ। भविष्यमा थप जोखिम निम्त्याउन सक्ने भएकाले नियन्त्रणका लागि प्रहरीको निगरानीसँगै परिवार, विद्यालय, स्थानीय तह र समुदायको सक्रियता पनि आवश्यक रहेको डीएसपी बमले जानकारी दिए।


