धनगढी । कैलालीको धनगढीस्थित मोहना नदी किनार छठ पर्वका लागि सिँगारिँदै छ। छठ पूजालाई लक्षित गर्दै घाट क्षेत्रमा सरसफाइ, सजावट र पूजास्थल व्यवस्थापनको काम तीव्र पारिएको छ।
छठ पूजा सेवा समितिका अध्यक्ष सन्तोष मण्डलका अनुसार पूजाको तयारी अन्तिम चरणमा पुगेको छ। यस वर्ष पनि घाटमा धार्मिक अनुष्ठानसँगै झाँकी, नृत्य, भजन र सांस्कृतिक कार्यक्रम आयोजना गरिनेछ। शनिबार डान्डिया नृत्यसहितका कार्यक्रम र आइतबार विशेष सांस्कृतिक प्रस्तुति रहनेछन्।
पर्व व्यवस्थापनका लागि यस वर्ष करिब २२ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। स्थानीय सरकारले सहयोग गर्दै आए पनि अन्य निकायबाट सहयोग नपाएको समितिको गुनासो छ। भक्तजनबाट प्राप्त सहयोगकै भरमा व्यवस्थापन भइरहेको अध्यक्ष मण्डलले बताए।
छठ पर्वमा व्रतालुहरू निर्जल व्रत बसेर अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिने गर्छन्। धार्मिक आस्थासँग जोडिएको यो पर्वमा पछिल्लो समय सबै समुदायको सहभागिता बढ्दै गएको छ। मनोकामना पूरा हुने विश्वासका साथ सुदूरपश्चिमका विभिन्न जिल्ला तथा भारतबाट समेत श्रद्धालुहरू मोहना घाट पुग्ने गरेका छन्।


