धनगढी । तिहार नजिकिएसँगै कैलालीका पुष्प किसानको बारीमा सयपत्री र मखमली फूल ढकमक्क फुलेका छन्। महिनौँको मेहनतपछि बारीमा फूल फुलेर तयार भएसँगै किसानलाई अहिले फूल टिप्ने र बजार पुर्याउने चटारो सुरु भएको छ।
टीकापुरका पुष्प कृषक सीताराम चौधरीको बारी यतिबेला सयपत्री र मखमली फूलले भरिएको छ। एक दशकदेखि व्यावसायिक पुष्प खेती गर्दै आउनुभएका चौधरी यस वर्ष उत्पादन राम्रो भएपछि उत्साहित हुनुहुन्छ। १३ कट्ठा जमिनमा खेती गर्दै आउनुभएका उहाँको बारीमा गत वर्षको तुलनामा दोब्बरभन्दा बढी फूल उत्पादन भएको छ।
गत वर्ष फूल उत्पादनको समय र तिहारको मिति नमिल्दा मागअनुसार फूल उपलब्ध गराउन नसकेको अनुभव सुनाउँदै उहाँले यस वर्ष भने स्थानीय बजारको माग धान्न सक्ने गरी उत्पादन भएको बताउनुभयो।
“गत वर्ष कात्तिक १० मै तिहार भएकाले पर्याप्त फूल उत्पादन भएको थिएन। यस वर्ष फूल फुल्ने समय र तिहार ठ्याक्कै मिलेको छ। स्थानीय आवश्यकतालाई पुग्ने गरी फूल तयार भएको छ,” उहाँले भन्नुभयो, “मैले उत्पादन गरेको फूल टीकापुर र लम्कीमै खपत हुन्छ।”
स्थानीय तहहरूले प्लास्टिकका फूल प्रयोगमा प्रतिबन्ध लगाउन थालेपछि प्राकृतिक फूलको बजारसमेत विस्तार हुँदै गएको छ। विशेषगरी प्लास्टिकमुक्त पालिकाका रूपमा रहेको धनगढीमा सयपत्री र मखमली फूलको माग उच्च रहने गरेको छ।
धनगढीको यही बजारलाई लक्षित गर्दै युवा कृषक रोशन साउदले यस वर्ष दुई बिघा क्षेत्रफलमा पुष्प खेती गर्नुभएको छ। धनगढी उपमहानगरपालिका–९, बङ्गरासहित विभिन्न स्थानमा खेती गर्नुभएका उहाँको बारीमा पनि तिहारका लागि फूल तयार भइसकेको छ। अहिले उहाँ बजारमा फूल बिक्री गर्ने तयारीमा जुट्नुभएको छ।
पछिल्लो समय कैलालीमा व्यावसायिक पुष्प खेती गर्ने किसानको सङ्ख्या बढ्दै गएको छ। अन्य कृषि उपजको तुलनामा फूलबाट राम्रो आम्दानी हुने भएकाले किसान यसतर्फ आकर्षित हुन थालेका हुन्।
अगुवा कृषक चौधरीका अनुसार यस वर्ष भदौदेखि नै सयपत्री फूल बिक्री भइरहेको छ। उहाँले प्रतिकेजी एक हजार रुपैयाँसम्ममा सयपत्री बिक्री गर्दै आउनुभएको छ।
पुष्प खेतीबाट हुने आम्दानी तिहारमा मात्रै सीमित छैन। विभिन्न सभा, सम्मेलन, सङ्घसंस्थाका अधिवेशन, वार्षिक साधारण सभा तथा महोत्सवमा समेत फूलको माग हुने गरेको छ। यसले पुष्प खेतीलाई मौसमी व्यवसायबाट व्यावसायिक आम्दानीको सम्भावना भएको खेतीका रूपमा स्थापित गर्न थालेको छ।


