धनगढीः कैलालीमा लागुऔषध कारोबार तथा सेवनविरुद्ध प्रहरीले चलाएको कारबाहीका क्रममा दुई छुट्टाछुट्टै स्थानबाट तीन जना पक्राउ परेका छन्। प्रहरीले उनीहरूको साथबाट ब्राउन सुगरजस्तो देखिने पदार्थ र प्रतिबन्धित औषधि बरामद गरेको छ।
जिल्लाको भजनी नगरपालिका–३ कुसुमघाटबाट शुक्रबार १ ग्राम ५० मिलिग्राम खैरो हेरोइनज, प्रोक्सिओह्मस्पास नामक २८ क्याप्सुल र एन–१० नामक २८ ट्याब्लेटसहित दुई जना पक्राउ परेका हुन्। प्रहरी चौकी जनकपुरबाट खटिएको टोलीले उनीहरूलाई शङ्का लागेर जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारेको थियो। पक्राउ पर्नेमा टीकापुर नगरपालिका–५ का २२ वर्षीय रोशन सार्की रहेका छन्। अर्का पक्राउ परेका व्यक्तिको परिचय खुलाइएको छैन।
यसैगरी, धनगढी उपमहानगरपालिका–४ चटकपुरबाट १२७ मिलिग्राम ब्राउन सुगरसहित डोटीको जोरायल गाउँपालिका–२ का २५ वर्षीय अमरबहादुर कुँवर पक्राउ परेका छन्। अस्थायी प्रहरी पोष्ट चटकपुरबाट खटिएको प्रहरी टोलीले शुक्रबार शङ्का लागेर जाँच गर्ने क्रममा उनको साथबाट उक्त पदार्थ बरामद गरेको हो।


