धनगढी । सुदूरपश्चिम प्रदेशको बजेटमाथि संसदीय छानबिन गर्ने निर्णयबाट सरकार पछाडि हट्न खोजेको भन्दै सत्तारुढ नेपाली कम्युनिस्ट पार्टी नेकपाकै सांसद अक्कल रावलले कडा आपत्ति जनाएका छन्।
उनले बजेट छानबिनका लागि गठन हुने समितिलाई समेत सरकारले आफ्नो अनुकूल बनाउन खोजेको आरोप लगाएका छन्। सांसद रावलले बजेटमा बेथिति रहेको स्वीकार गरेर छानबिनपछि पूरक बजेट ल्याउने निर्णय गरेको सरकारले अहिले आफैँ समिति गठन गर्न खोज्नु हास्यास्पद भएको टिप्पणी गरेका छन्।
उनले सरकारको बजेटमाथि छानबिन गर्ने अधिकार सरकारलाई नभई प्रदेशसभालाई रहेको स्पष्ट पारेका छन्। ‘आफैँ बिरामी भएको सरकारले आफ्नो उपचार आफैँ गरेर हुँदैन। सरकार अशक्त भयो भने त्यसको उपचार सदनले नै गर्ने हो,’ रावलले सामाजिक सञ्जालमा लेखेका छन्।
उनका अनुसार प्रदेश सरकारको मन्त्रिपरिषद् बैठक र आर्थिक मामिलामन्त्री चक्र मल्लले प्रदेशसभा बैठकमै बजेटमाथि संसदीय छानबिन गरी प्रतिवेदनका आधारमा पूरक बजेट ल्याउने प्रतिबद्धता जनाएका थिए। सभामुखले समेत उक्त विषयमा सदनको स्वामित्व ग्रहण गरिसकेको अवस्थामा छानबिन प्रक्रिया सरकारको नियन्त्रणमा राख्न खोज्नु गलत भएको उनको भनाइ छ।
रावलले मुख्यमन्त्री कार्यालयमा सत्तारुढ दलका नभई सत्ताधारीहरूको बैठक बसेर छानबिन समितिका सदस्य छनोट गर्न खोजिएको भन्दै व्यङ्ग्य गरेका छन्। सबै दलसँग छलफल गरेर सभामुखको अग्रसरतामा गठन हुनुपर्ने समितिका सदस्य सरकार पक्षले नै छान्न खोज्नुले छानबिनको निष्पक्षतामाथि प्रश्न उठाएको उनले बताएका छन्। ‘क–कसलाई राख्यो भने बजेटलाई दूधले नुहाएको र गाईको गहुँत छर्केर पवित्र बनाउन सकिन्छ भन्ने गहन छलफल भएछ,’ उनले लेखेका छन्, ‘समिति बनाएर उही पुरानै बजेटलाई स्नान गराएर पाप पखाल्ने धन्दा चल्दैछ। त्यो कदापि स्वीकार्य छैन।’
सरकारले नै बजेटमा बेथिति भएको स्वीकार गरिसकेको अवस्थामा अब छानबिनको नाममा औपचारिकता पूरा गरेर पुरानै बजेटलाई वैधता दिने प्रयास नगर्न उनले चेतावनी दिएका छन्। समितिमा सबै दलको सहभागिता, प्रदेशसभाको स्वामित्व र छानबिनको निष्पक्षता सुनिश्चित हुनुपर्ने उनको माग छ।
मुख्यमन्त्री खगराज भट्टलाई लक्षित गर्दै रावलले सुशासनका भाषण र व्यवहारबीचको अन्तर अन्त्य गर्न पनि आग्रह गरेका छन्। छानबिनपछि पूरक बजेट ल्याउने प्रतिबद्धताका आधारमा बजेट पारित गर्न सहमत भएको प्रतिपक्षीविहीन प्रदेशसभा बैठकको निर्णयलाई अर्को विवादमा परिणत नगर्न उनले चेतावनी दिएका छन्।


