धनगढी । नेपाल प्रहरीका महानिरीक्षक आईजीपी दानबहादुर कार्कीमाथि पदबाट राजीनामा दिन दबाब बढेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले राजीनामा दिन दबाब दिएपछि कार्की कानुनी परामर्शमा जुटेको स्रोतको दाबी छ।
प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासँग जोडिएका इनम सापकोटा पक्राउ परेपछि कार्कीमाथि राजीनामाको दबाब बढाइएको हो। आइतबार नै प्रधानमन्त्रीको सचिवालयबाट कार्कीलाई राजीनामा दिन आग्रह गरिएको स्रोतको भनाइ छ।
कार्कीलाई स्वेच्छाले राजीनामा नदिए सरकारले पदबाट हटाउन सक्ने सन्देशसमेत दिइएको थियो। त्यसपछि कार्कीले सम्भावित सरकारी कदमविरुद्ध कानुनी उपचार खोज्न केही कानुन व्यवसायीसँग छलफल गरेको बताइएको छ।
पूर्वप्रधानन्यायाधीश राणाको पक्राउपछि उनीसँग सम्बन्ध रहेका व्यक्तिहरूमाथि अनुसन्धान गर्ने क्रममा इनम सापकोटा पक्राउ परेका थिए। सापकोटाको मोबाइलको प्राविधिक परीक्षणका क्रममा पक्राउ पर्नुभन्दा ६ दिनअघि आईजीपी कार्कीसँग ह्वाट्सएपमार्फत सम्पर्क भएको दाबी गरिएको छ।


