कञ्चनपुर — कञ्चनपुरमा लागूऔषध ओसारपसारका फरक–फरक तरिका फेला परेका छन् । खैरो हेरोइनका पुडिया नै निलेर पेटभित्र लुकाउनेदेखि मुखभित्र राखेर सीमा पार गर्ने क्रम देखिएको छ । प्रहरीले तीनवटा छुट्टाछुट्टै घटनामा चार पुडियासहित पेटभित्र लुकाइएको १०.४२ ग्राम, सीमामा बरामद गरिएको १२ ग्राम र तालिमप्राप्त कुकुरको सहयोगमा मुखभित्रबाट फेला पारिएको ०.१६ ग्राम गरी कुल २२.५८ ग्राम खैरो हेरोइन बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पेटभित्र लागूऔषध लुकाएर ओसारपसार गरिरहेको सूचनाका आधारमा भीमदत्त नगरपालिका–१८ का ३३ वर्षीय राज चौधरीलाई नियन्त्रणमा लिइएको हो । इलाका प्रहरी कार्यालय ब्रह्मदेव र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले आइतबार साँझ भीमदत्त नगरपालिका–९ स्थित जिरो पोइन्टबाट उनलाई नियन्त्रणमा लिएको थियो ।
महाकाली प्रादेशिक अस्पतालको निगरानीमा राखिएका चौधरीले सोमबार बिहान दिसा गर्ने क्रममा कालो प्लास्टिकभित्र चार पुडियामा लुकाइएको खैरो हेरोइन फेला परेको प्रहरीले जनाएको छ । मान्यताप्राप्त तराजुमा तौल गर्दा उक्त पदार्थको शुद्ध तौल १०।४२ ग्राम रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले जानकारी दिएका छन् ।


