धनगढी — पश्चिम नेपालका थारू बस्तीमा दसैंको उमंग मादलको तालसँगै गाउँभरि फैलिएको छ । ‘दश्या’ भनिने यो पर्वमा घरघरमा कुलदेवताको पूजा हुन्छ, पितृलाई प्रसाद चढाइन्छ र मान्यजनबाट सेतो अक्षताको टीका लगाएर आशीर्वाद लिइन्छ । साँझ परेपछि गाउँका चोक, आँगन र चौतारामा सखिया नाच सुरु हुन्छ । कृष्णलीलामा आधारित गीत गाउँदै हातमा हात मिलाएर नाच्ने युवायुवतीको जमघटले थारू बस्तीलाई सांस्कृतिक उत्सवमा बदल्छ । पुर्खादेखि चलिआएको परम्परा र सामूहिक जीवनशैलीको झल्को दिने सखिया नाच थारू समुदायको दसैंको खास आकर्षण हो ।
दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका गाउँमा यतिबेला थारू सांस्कृतिक कार्यक्रम जारी छन् । यहाँका थारू समुदायले माघी र अट्वारीपछि दसैंलाई ठूलो पर्वका रूपमा मनाउने गरेका छन् । अगुवाका अनुसार दसैंमा थारू समुदायले आफ्ना कुलदेउताको पूजा गर्दै पितृको सम्झना गर्छन् । पितृलाई प्रसाद चढाउँछन् ।
‘थारू समुदायले दशमीको दिन सामूहिक रूपमा टीका लगाएर आफ्नै संस्कृति र परम्पराअनुसार ‘दश्या’ मनाउँछन्,’ टीकापुरका फिरुलाल चौधरी भन्छन्, ‘हाम्रो समुदायमा पनि घटस्थापनाको दिन जमरा राखेपछि दसैं सुरु हुन्छ। मकैको जमरा राखिन्छ ।’ जमरा राखेपछि थारू समुदायमा औपचारिक रूपमा दसैं सुरु हुन्छ । उनका अनुसार विभिन्न ठाउँमा बसोबास गर्ने थारू समुदायको दसैं मनाउने एउटै प्रचलन छैन । ठाउँअनुसार केही फरक देखिन्छ ।
पुर्खादेखि थारू समुदायको प्रमुख अन्नबाली मकै भएकाले जमराका रूपमा लगाउन थालिएको मान्यता रहेको धनगढीका प्रभु चौधरीले बताए । थारू समुदायले महाष्टमीको साँझ हरेक घरमा पितृको सम्झना गर्दै कुलदेउतालाई रक्सी, ढिक्रीलगायत प्रसाद चढाउने प्रचलन रहेको कैलालीका थारू अगुवा दीलबहादुर चौधरीले बताए । ‘कुभिण्डोको बलि दिने चलन पनि छ,’ उनले भने, ‘नवमीको बिहान कुखुराको चल्ला पुज्दै पितृको श्राद्ध गरिन्छ । भात र माछासहित पाँच थरीका तरकारी टपरीमा राखेर आफ्ना पितृलाई प्रसाद चढाएपछि साँझ नदी किनारमा गएर मादल बजाएर कुलदेउता र पितृको पूजा गर्ने चलन छ ।’
दसैंका दिन मान्यजनबाट टीका लगाएर आशीर्वाद लिने चलन छ । भलमन्साको घरमा पुगेर सामूहिक रूपमा टीकाको सुरुवात हुन्छ । थारू समुदाय हिन्दु धर्मावलम्बी भए पनि संस्कृति बौद्ध र हिन्दु धर्मसँग जोडिएको थारू संस्कृतिका जानकार फिरुलाल चौधरीले बताए । अन्य समुदायले लगाउनेजस्तो रातो अक्षताको टीका थारू समुदायले लगाउँदैनन् । उनीहरूले दसैंमा सेतो अक्षता लगाउँछन् । शान्तिको प्रतीकका रूपमा सेतो अक्षता लगाउने गरेको स्थानीय राजकुमार चौधरीले बताए । दसैंको टीका सेतो लगाएझैँ विवाह र अन्य भोज वा पर्वमा पनि सेतै टीका लगाउने चलन थियो । पछिल्लो समयमा रातो टीका समेत लगाउन थालेको धनगढीका बासिन्दा उनले बताए । ‘पुरानो चलनमा धेरै फेरबदल आइसक्यो,’ उनले भने, ‘थारू संस्कृति धेरै लोप हुन थालिसक्यो ।’
दसैंमा थारू समुदायको अर्को विशेषता सखिया नाच हो । दसैंको आगमनसँगै सखिया नाचले गाउँ गुञ्जायमान हुने गरेका छन् । थारू भाषामा ‘सखी’को अर्थ साथीसङ्गी हुन्छ । गाउँका सबै साथीसङ्गी मिलेर नाचिने भएकाले यसको नाम सखिया हुन गएको थारू अगुवा बताउँछन् । ‘नाचको बहानामा सबै परिवार एक ठाउँमा जम्मा हुने भएकाले सामूहिक भावनासहित मेलमिलाप, भ्रातृत्व साटासाट हुने गर्छ,’ टीकापुरका दीलबहादुर चौधरीले भने ।
गुरुवाले नाचमा प्रयोग हुने मादल, मञ्जीरालगायतका सामानको पूजा गरेपछि थारू महिलाले सखिया नाच्न सुरु गर्छन् । नाचमा कुनै बाधा–अवरोध नहोस् भनेर नाच सुरु हुनुभन्दा पहिले पूजा गर्नुपर्ने चलन रहेको थारू अगुवा राजकुमारले बताए । ‘यो नाचमा दुष्टात्माको भवितव्यबाट बचाउनका लागि गुरुवाले गाउँको देउताको पूजा गर्छन्,’ उनले भने, ‘गाउँका बडघर र भद्रभलादमी यसका संरक्षक रहेका हुन्छन् ।’
सखियामा महिलाले नाच्ने चलन छ । सेतो रङको फरिया र रातो रङको चोलियामा महिला नाच्छन् भने पुरुषले सेतो रङको धोती र रुचिअनुसारको रङको कमिज लगाएर मादल बजाउने गर्छन् । सखियामा जति धेरै मादलको आवाज घन्कियो, उति नै रौनकता हुने गर्छ । कम्तीमा दुई जना मादले युवा हुनैपर्छ । सखिया नाच्ने युवतीले मुख्य मादलेको मादल रङ्गीबिरङ्गी कपडाले सजाइदिने चलन रहेको चौधरीले बताए ।
सखिया नाचमा भगवान् कृष्णको जीवनमा आधारित गीत गाइने उनीहरू बताउँछन् । ‘कृष्ण भगवानको जीवनकथामा आधारित गीत नसकिएसम्म नाच सकिन्न,’ अगुवा दिलबहादुरले भने । दसैंमा गाउँका सबैका घरमा नाच्ने गरिन्छ । घरमा नाच्न गएपछि घरमूलीले गच्छेअनुसारको दक्षिणा दिएर पठाउने गर्छन् । दिनभरको काम सकेपछि साँझपख नाचिने यो नाच थारू समुदायले दसैंमा बाहेक अन्य समयमा भने दिनभर नाच्ने गर्छन् ।
कृष्ण जन्माष्टमीदेखि सुरु हुने सखिया नाचले घटस्थापनापछि अझ व्यापकता पाउँछ । साँझपख गाउँका चोक, आँगन र चौतारामा भेला हुने युवायुवती तथा महिलाहरू सखिया नाचमा रमाउन थालेपछि दसैंको चहलपहल नै बेग्लै हुन्छ । थारू बस्तीहरू सांस्कृतिक उत्सवले गुञ्जायमान हुन थालेका छन् ।
कृष्णलीलाका गीत, मादलको ताल र गोलो घेरामा नाच्ने युवायुवतीको उत्साहले सखिया नाचलाई थारू समुदायको सांस्कृतिक पहिचान बनाएको छ । पुस्तौंदेखि चलिआएको यो परम्परामा दसैंको खुसी मात्रै होइन, पुर्खाको विरासत, सामाजिक सद्भाव र सामूहिक जीवनको लय पनि भेटिन्छ । त्यसैले थारू बस्तीमा दसैं आउनु भनेको टीका र जमराको उत्सव मात्र होइन, आफ्नोपन र मौलिक संस्कृति फेरि एकपटक जीवन्त बनाउने अवसर पनि हो ।


