धनगढी: पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरीनजिकै गलौँदी क्षेत्रमा सडक भासिएपछि सवारी आवागमन पूर्ण रूपमा बन्द भएको छ । शुक्रबार साँझ उक्त सडक खण्डको करिब १०० मिटर भाग चर्किएको र २० मिटर सडक भासिएपछि यातायात सञ्चालनमा रोक लगाइएको हो ।
सडकको किनारासम्मै चिरा परेकाले थप पहिरो जाने र सडक भासिने जोखिम बढेको छ । जोखिम बढेपछि सम्भावित दुर्घटना रोक्न उक्त सडक खण्डमा सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको छ ।
प्राविधिक टोलीले स्थलगत निरीक्षण र मूल्यांकन गरेपछि मात्र सडकको वास्तविक अवस्था र पुनः सञ्चालनबारे निर्णय लिइने बताइएको छ ।


