धनगढी: कैलालीको चुरे गाउँपालिकाको अध्यक्ष पदका लागि राम भाटले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन्। युवामाझ लोकप्रिय रहेका भाटले चुरे गाउँपालिकाको समग्र विकास र स्थानीय नागरिकका आधारभूत आवश्यकता पूरा गर्ने उद्देश्यले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।
उम्मेदवारी घोषणा गर्दै भाटले चुरे गाउँपालिकामा उपलब्ध स्रोतसाधनको उचित र प्रभावकारी उपयोग गरी शिक्षा, स्वास्थ्य, खानेपानी, सडक तथा विद्युतलगायतका क्षेत्रमा देखिएका प्रमुख समस्या समाधानलाई प्राथमिकतामा राख्ने बताएका छन्।
उनले गाउँपालिकाका नागरिकले सरकारी सेवा लिन कार्यालय धाउनुपर्ने र लामो समय कुर्नुपर्ने अवस्थाको अन्त्य गर्दै स्थानीय तहका सेवा प्रवाहलाई डिजिटल प्रविधिमैत्री बनाउने योजना अघि सारेका छन्।
सेवाग्राहीका कामलाई छिटो, छरितो, चुस्त र पारदर्शी ढंगले सम्पन्न गर्ने आफ्नो प्राथमिकता रहेको उनको भनाइ छ। युवालाई रोजगारी र व्यवसायसँग जोड्न ‘एक घर, एक व्यवसाय’को अवधारणा अघि बढाउने उनले बताएका छन्। स्थानीय स्तरमै उद्यम तथा व्यवसायको वातावरण सिर्जना गरी युवालाई स्वरोजगार बनाउने र रोजगारीका लागि बाहिरिनुपर्ने बाध्यता कम गर्ने आफ्नो योजना रहेको भाटले बताए।
चुरे गाउँपालिकाको भौगोलिक अवस्था र सडकको समस्यालाई मध्यनजर गर्दै बाह्रै महिना सञ्चालन गर्न सकिने ग्रामीण सडक निर्माणलाई पनि उनले प्राथमिकतामा राखेका छन्। पालिकाकै स्रोतसाधनको अधिकतम प्रयोग गरी ग्राभेल सडक निर्माणको कामलाई व्यवस्थित रूपमा अघि बढाउने उनको योजना छ।
त्यस्तै, कृषि क्षेत्रलाई उत्पादनमुखी बनाउन किसानलाई उत्पादनमा आधारित अनुदान उपलब्ध गराउने योजना पनि भाटले अघि सारेका छन्। किसानले उत्पादन गरेका कृषि उपजको बजारीकरण, कृषि पूर्वाधार विकास तथा स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने नीति आवश्यक रहेको उनको भनाइ छ।
चुरे गाउँपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था सुधारलाई समेत उनले आफ्नो मुख्य एजेन्डाका रूपमा प्रस्तुत गरेका छन्। विद्यालय तथा स्वास्थ्य संस्थाको पूर्वाधार र सेवा विस्तारसँगै नागरिकले स्थानीय स्तरमै गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा पाउने वातावरण निर्माण गर्ने उनको प्रतिबद्धता छ।
‘चुरेको विकासका लागि यहाँका सम्भावना र स्रोतसाधनको सही उपयोग गर्न आवश्यक छ,’ भाटले भने, ‘शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, विद्युत र रोजगारीका क्षेत्रमा देखिएका समस्या समाधान गर्दै नागरिकले स्थानीय सरकार भएको अनुभूति गर्ने गरी काम गर्न नेतृत्वमा आउन खोजेको हुँ।’
उनले राजनीतिक दलभन्दा माथि उठेर स्थानीय नागरिकका आवश्यकता र गाउँपालिकाको विकासलाई केन्द्रमा राखेर स्वतन्त्र उम्मेदवारी घोषणा गरेको बताएका छन्। स्थानीय स्रोतसाधनको परिचालन, पारदर्शी सेवा प्रवाह, युवाको सहभागिता र उत्पादनमुखी कार्यक्रममार्फत चुरेलाई आत्मनिर्भर बनाउने आफ्नो लक्ष्य रहेको भाटले बताए।


