धनगढी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि कैलाली क्षेत्र नम्बर ५ बाट महाधिवेशन प्रतिनिधिका उम्मेदवार बनेका कृषिविज्ञ राजेन्द्र बम पराजित भएका छन्। युवा क्लस्टरबाट उम्मेदवारी दिएका बम महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुन सकेनन्। कृषिमा स्नातकोत्तर गरेका बम राजनीतिसँगै कृषि क्षेत्रमा समेत सक्रिय रहँदै आएका छन्।
बम यसअघि नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा कैलाली क्षेत्र नम्बर ५ बाट प्रदेश प्रतिनिधि थिए। उनी नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्यसमेत भइसकेका छन्। त्यस्तै, उनले विद्यार्थी राजनीतिका क्रममा स्ववियु सभापतिको जिम्मेवारीसमेत सम्हालेका थिए। महाधिवेशन प्रतिनिधिमा पराजित भएपछि बमले सामाजिक सञ्जालमार्फत राजनीतिक सम्बन्ध र परिस्थितिबारे प्रतिक्रिया दिएका छन्। उनले राजनीतिमा परिस्थिति सधैँ एउटै नरहने उल्लेख गर्दै हिजोका राजनीतिक शत्रु समयक्रममा मित्रका रूपमा आउन सक्ने र नजिकका ठानिएका मित्रसमेत कुनै मोडमा फरक भूमिकामा देखिन सक्ने बताएका छन्।
उनले राजनीतिमा स्थायी मित्र र स्थायी शत्रु नहुने, परिस्थिति र स्वार्थअनुसार राजनीतिक सम्बन्ध परिवर्तन भइरहने उल्लेख गरेका छन्। पछिल्लो राजनीतिक घटनाक्रमले आफूलाई समेत उक्त भनाइलाई नजिकबाट अनुभूति गर्ने अवसर दिएको उनको भनाइ छ। बमले लेखेका छन्, ‘राजनीतिमा परिस्थिति सधैँ एउटै नरहने रैछ। समय र परिस्थितिअनुसार हिजोका शत्रु मित्र बनेर आउन सक्छन्, अनि नजिकका र आफ्ना ठानिएका मित्र पनि कुनै मोडमा फरक भूमिकामा देखिन सक्छन्।’ उनको पराजयसँगै कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचनमा विभिन्न क्षेत्र र समूहबाट विज्ञ तथा युवा पुस्ताका उम्मेदवारको प्रतिस्पर्धा र परिणामबारे पनि चर्चा हुन थालेको छ। बमले आफुलाई मतदान गर्ने सबैलाई धन्यवाद समेत दिएका छन् ।

